विजयपुर । नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घले सार्वजनिक सवारी साधनले विद्यार्थीहरुलाई सास्ती दिने गरेको भन्दै उपमहानगरमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

शुक्रबार नेपाल विद्यार्थी सङ्घ धरान नगर समितिले धरान उपमहानगर प्रमुख हर्कराज राईलाई ध्यानाकर्षण पत्र बुझाएको हो । सङ्घका नगर सभापति पारस लिम्बुसहितले ध्यानाकर्षण पत्र बुझाएका हुन् । धरान उपमहानगरमा सरकारी, आङ्गिक र नीजि क्याम्पसमा अध्ययन गर्न  १ नं. प्रदेशका विभिन्न क्षेत्रबाट विद्यार्थी आउने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

सार्वजनिक सवारीसाधनले क्याम्पसको पोसाक लगाएको देखेपछि बस नरोक्ने, रोकेपनि नचढाउने, चढाउन नखोज्ने र विद्यार्थीले पाउने छुट भाडा नदिने, दिन नखोज्ने गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ । इटहरी, विराटचोक, तरहरालगातयतका क्षेत्रबाट अध्यापनका लागि धरान आउने विद्यार्थीलाई सवारीसाधनले सास्ती दिने गरेको नेपाल विद्यार्थी सङ्घका नेता विवेक लिम्बूले बताए ।

सङ्घले समस्या समाधानको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएका हो । सङ्घले प्रमुख राईसँग सार्वजनिक यातायात व्यवसायी र यातायात व्यवसायी महासङ्घसँग आवश्यक पहल गरेर समस्या समाधान गरिदिन माग गरेको छ । सङ्घले  सवारी साधन रोकी, सहुलियत भाडादर कायमका लागि पहल गरिदिन माग गरेका छन् ।