भोजपुरका विकट तथा दुर्गम भेगका नागरिक आधारभूत स्वास्थ्य सेवा लिनबाट वञ्चित हुने गरेका छन् । यहाँका दुर्गम भेगका स्थानीयवासीलाई सामान्य स्वास्थ्य सेवा लिनको लागि तीन देखि चार घण्टाको दूरी हिँड्नुपर्ने अवस्था छ ।

स्वास्थ्य चौकीटाडा हुँदा सिटामोल तथा जीवनजल पाउन नै स्थानीयवासीलाई समस्या हुने गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले र चोलन्तीका स्थानीयवासीले यस्तो समस्या वषौँबाट भोग्दै आएका छन् ।

दुर्गम क्षेत्र भएका कारण उनीहरुलाई सामान्य रुगाखोकीको औषधि लिनको लागि घण्टौँ पैदलयात्रा पार गर्नु पर्नेहुन्छ ।  यहाँका नागरिकले दुईदेखि तीन घण्टा समय लगाएर वडा कार्यालयमा स्वास्थ्य सेवा लिन जानुपर्ने अवस्था छ ।

 त्यस्तै उनीहरु चार घण्टासम्म हिँडेर वडा नं ४ नागी र वडा नं ९ लेखर्कको पाँचधारेमा पुगेर आधारभूत स्वास्थ्य सेवा लिन बाध्य छन् । त्यहाँ पुग्नका लागि उनीहरुले चार घण्टासम्म यात्रा गर्नुपर्ने स्थानीयवासी सन्तोष विष्टले बताए । विष्टले भने,‘‘हाम्रो क्षेत्रबाट आधारभूत स्वास्थ्य सेवा लिन धेरै समस्या छ । यहाँबाट स्वास्थ्य चौकी पुग्न धेरै टाडा छ ।

हामीले सामान्य औषधि खरिदको लागि पनि खावा, नागी तथा पाँचधारे नै पुग्नुपर्छ । जहाँ पुग्न दुईदेखि चार घण्टासम्म पैदलयात्रा गर्नुपर्ने हुन्छ ।’’ स्थानीयवासीले आफ्नो क्षेत्रमा सहज आधारभूत स्वास्थ्य सेवाको लागि माग गरिरहेका छन् । सामान्य खालका औषधि लिनसमेत घण्टौँ पैदल हिँड्नु पर्दा अकालमा ज्यान जाने अवस्था रहेको स्थानीयवासी हर्कराज लुइँटेलले जानकारी दिए । 

वर्षातयाम सुरुभएपछि यातायात सेवा पूर्ण रुपमा बन्दा हुँदा झनै समस्या भएको लुइँटेलको भनाइ छ । उनले भने,‘‘हाम्रो क्षेत्रमा स्वास्थ्यको असाध्यै समस्या छ । हुन त आजको समस्या होइन् । वषौँबाट यही समस्या भोग्दै आएका छौँ । यो भेगका मानिसलाई पायकपर्ने स्थानमा स्वास्थ्य संस्था छैन । हामीले विभिन्न निकायमा यो क्षेत्रलाई लक्षित गरेर स्वास्थ्य चौकीको गरिरहेका छौँ । तर कुनै पनि निकायबाट पहल हुनसकेको छैन् । हाम्रो क्षेत्रमा एउटा स्वास्थ्य चौकीको अति नै आवश्यक छ ।’’

साविक खावा गाउँ विकास समितिक वडा नं– ९, ८ र ७ का स्थानीयवासीलाई लक्षित गरेर स्वास्थ्य चौकीको स्थापना गरी दिए सहज हुने मझौलेका स्थानीयवासी शिवकुमार विष्टले बताए । ठूलो भूगोल रहेका कारण वडा कार्यालय रहेको स्थान वडा– ५ खावामा सेवा लिन जान सास्ती रहेको उनको भनाइ छ । वर्षातको सिजन रहेकोले विभिन्न खाले हैजाबाट बिरामी हुँदा घरयासी उपचार र धाँमी झाँक्रीको भरमा बस्नुपर्ने अवस्था रहेको विष्टले जानकारी दिए ।

 उनले भने,‘‘हाम्रो यो भूगोल निकै ठूलो छ । वडा कार्यालयमा रहेको स्वास्थ्य चौकी पुग्न नै हामीलाई दुईदेखि तीन घण्टा लाग्छ । बिरामीलाई स्टेचरमा बोकेर लैजाँदा त त्यो भन्दा बढी समय लाग्छ । यो क्षेत्रलाई लक्षित गरेर स्वास्थ्य चौकी स्थापना भए हामीलाई राहत पुग्ने थियो । हाम्रो क्षेत्रमा सामान्य स्वास्थ्य सेवा नपाएर नै ज्यान गुमाउनुपर्ने अवस्था छ । यसमा सरकोकारवाला पक्षको ध्यान गए हुने ।’’

स्थानीयवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि काम गरिरहेको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ । कतिपय ठाउँमा आधारभूत स्वास्थ्य सेवा लिन नै समस्या रहेकोले त्यस्ता क्षेत्रमा स्वास्थ्य चौकी स्थापनाको लागि केन्द्र सरकारसँग पहल गरिरहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए ।

 उनले भने,‘‘हाम्रो गाउँपालिकामा मात्र नभएर जिल्लाका धेरै दुर्गम भेगमा यस्तो समस्या छ । झन वर्षात सुरु भएपछि  त कतिपय ठाउँका स्थानीयवासीलाई स्वास्थ्य चौकी पुग्नै कठिन छ । त्यस्ता ठाँउलाई लक्षित गरेर सहज सेवाका लागि हामी पहल गछौँ । कतिपय कुरा स्थानीय सरकारको पहुँच भन्दा बाहिरको विषय भएकोले त्यस्ता विषयमा केन्द्र सरकारसँग समन्वय गर्नुपर्ने अवस्था छ । केन्द्र तथा प्रदेश सरकारसँग नागरिकको समस्यालाई समाधानमा गाउँपालिकाले काम गरिरहेको छ ।’’

गाउँपालिकाका विकट तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरेर अस्थायी स्वास्थ्य केन्द्र सञ्चालन गर्ने अध्यक्ष बस्नेतको भनाइ छ । जसको लागि वडा नं १ तिम्माको खम्वुखा र वडा न २ रुमलामा स्वास्थ्य केन्द्र स्थापना गर्नको लागि काम भइरहेको उनले जानकारी दिए । अध्यक्ष बस्नेतले भने,‘‘ हामीले दुर्गम भेगमा स्वास्थ्य सेवा विस्तार गर्न दुई स्थानमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी गरिरहेका छौँ । वडा नं ५ खावाको चोलन्ती र मझौलेलाई लक्षित गरेर अस्थायी स्वास्थ्य केन्द्र स्थापना पर्ने योजना छ । अस्थायी रुपमा भए पनि त्यसपछि अन्य ठाउँमा पनि काम गर्छौँ । स्थायी रुपमा स्वास्थ्य चौकी स्थापना गर्नका लागि पनि पहल भइरहेको छ ।’’

 सरकारले गत वर्षको मङ्सिर १५ गते देशभरसँगै भोजपुरका नौ ओटा स्थानीय तहमध्ये सात स्थानीय तहमा अस्पतालको शिलान्यास गरेको छ । तीन अस्पताल निर्माणको काम पनि भइरहेको छ । कतिपय स्थानीय तहमा भने अस्पताल निर्माणको काममा ढिलाइ भएको कारण स्थानीयवासीले गुनासो गर्दै आएका छन् ।

सरकारले यहाँका पौवादुङमा, अरुण, साल्पासिलिछो, टेम्केमैयुङ, रामप्रसाद राई, आमचोक र हतुवागढी गाउँपालिकामा  पाँचदेखि १५ शय्याको अस्पताल शिलान्यास गरेको हो । यहाँका स्थानीय तहरुले आवश्यक प्रक्रिया पूरा गरेर निर्माणको काम गरिरहेको जनाएका छन् । पौवादुङमा गाउँपालिकाको  रु चार करोड ८१ लाख १४ हजारमा लागतमा पाँच क्षमता अस्पताल निर्माणको काम ४५ प्रतिशत  बढी सम्पन्न भएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो । यहाँ गत वर्षको फागुन महिनाबाट निर्माण थालिएको हो ।  

साल्पासिलिछो गाउँपालिकामा रु छ करोड ६५ लाख लागतमा पाँच शय्या, आमचोक गाउँपालिकामा रु १२ करोड  ५० लाख लागतमा १० शय्या, हतुवागढी गाउँपालिकामा रु १६ करोड लागतमा १५ शय्या क्षमताको अस्पताल निर्माण हुने जनाइएको छ । त्यस्तै टेम्केमैयुङ गाउँपालिकाको कोटमा रु १८ करोड ६५ लाख १४ क्षमताको अस्पताल निर्माण हुनेछ । यहाँ ६६ स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य सेवा केन्द्र, तीन प्राथमिक स्वास्थ्य केन्द्र, तीन सहरी स्वास्थ केन्द्र, सात सामुदायिक स्वास्थ्य इकाई र एक जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।