विजयपुर । निजी तथा संस्थागत विद्यालयले अत्याधिक शुल्क लिएको गुनासो आएपछि उपमहानगरले अनुगमन गरेको छ ।

बुधबार उपमहानगरका प्रमुख हर्कराज राईसहित शिक्षा महाशाखाले ३ विद्यालयको अनुगमन गरेको हो । धरान–१५ को केके इन्टरनेशनल विद्यालय, धरान–९ को विष्णु मेमोरियल स्कुल र धरान–१ को युरेका स्कुलको अनुगमन गरेको शिक्षा महाशाखा प्रमुख रमेशकुमार साहले जानकारी दिए ।

उपहानगर प्रमुख राई, कार्यपालिका सदस्य विकास भाटी, शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख साह र अभिभावक सङ्घका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको हो ।

प्रमुख राईले अनुगमनका क्रममा अत्यधिक शुल्क लिएअनुसार सुविधा भए–नभएको स्थलगत अध्ययन गर्न निस्किएको बताए । उनले भने, ‘शुल्क समायोजन गर्नका लागि वास्तविकता बुझ्नुपर्यो ।’ उनले अत्यधिक शुल्क लिइएको भए समायोजन गर्ने बताए । उनले सरकारको निर्णय विद्यालयहरूले मान्नु पर्ने बताए । सरकारको निर्णय अवज्ञा गर्ने विद्यालयलाई कारबाही गरिने बताए ।

विष्णु मेमोरियल स्कुलका संस्थापक बेनिन्द्र कटवालले पनि स्थानीय सरकारले अनुगमन गर्नु स्वागतयोग्य कुरा भएको बताए । उनले शुल्क महँगो भएको गुनासोबारे स्कुलको गुणस्तर, शिक्षकहरूलाई दिने तलबलगायतको कारणले गर्दा महँगो भएको बताए ।

विद्यालयका शिक्षकहरूलाई सरकारी शिक्षकसरहको सेवा सुविधा भएको र पढाइ पनि अब्बल भएको, सरकारले तलब वृद्धि गर्दा आफ्नो विद्यालयमा पनि बढाउनुपर्ने भएकोले शुल्क १० प्रतिशत मात्र बढाएको उनले दाबी गरे ।
धरानका अन्य विद्यालयहरूले भने परीक्षा सकेर बिदा दिइसकेका छन् ।