विजयपुर । धरान उपमहानगर क्षेत्रमा पर्ने सरकारी तथा उपमहानगरकै नाममा भएको जग्गा पनि भूमाफियाले चलखेल गरी खरिद बिक्री गर्ने कार्य अझै रोकिएको छैन । सरकारी जग्ग अनधिकृत रूपमा खरिद बिक्री हुँदा पनि नियामक निकाय भने मौन रहँदै आएको छ ।

विगत लामो समयदेखि विभिन्न स्थानमा सुकुम्बासीका नाममा राजनीतिक दलका नेतासहित जनप्रतिनिधिहरूबाट नै सरकारी जग्गा खरिद बिक्री हुँदै आएको थियो । धरानको सेउती, सर्दुलगायतका खोला आसपासमा सरकारी जग्गा राजनीतिक दलका कार्यकर्तासहित भूमाफियाले सरकारी जग्गा बिक्री गर्दै आएका थिए ।

पछिल्लो समय धरानका विभिन्न स्थानमा भूमाफियाले सरकारी जग्गा अतिक्रमण गरी खरिद बिक्री गर्दै आएका छन् । धरान–५ स्थित अँधेरी खोलाछेउमा फुटबल मैदानका लागि भनेर खोलालाई किनारीकृत गरेर निकालिएको जग्गा उत्खनन् गर्ने, घेराबारा लगाउने कार्य भइरहेको छ ।

धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूले खेलमैदानका लागि भनेर निकालिएको जग्गामा उत्खनन् गरेको बताए । तर, उनले भने, ‘सोधपुछ गर्दा निजी हो भन्ने जवाफ आयो ।’ उनका अनुसार खेलमैदान निर्माण गर्ने भनिएको जग्गाबाट धरान–५ का निवर्तमान अध्यक्ष सन्तोष लिम्बूका दाजु लक्ष्मी लिम्बूले उत्खनन् गरेका हुन् । वडाध्यक्ष लिम्बूले भने, ‘निजी भनेपछि हामीले छोडिदिएका छौँ ।’

त्यस्तै सोही जग्गाको दक्षिणतिर पनि घेराबारा गर्ने कार्य भइरहेको छ । तर, कसले घेराबारा गरिरहेको भन्ने कुरा खुलेको छैन । धरान–१७ मा रहेको धरान उपमहानगरको नाममा रहेको जग्गामा पनि टहरा निर्माण गरी बसोबास गरिएको छ ।

धरान–१७ एन्फा एकेडेमी उत्तरतर्फ साउने टोल विकास समितिको भवनछेउको उपमहानगरको जग्गामा घरटहरा निर्माण गरी बसोबास थालिएको छ । उक्त जग्गा सोही स्थानमा भाडामा बसोबास गर्नेहरूलाई जनप्रतिनिधि तथा निवर्तमान जनप्रतिनिधिले बस्न दिएको स्रोतको भनाइ छ ।

तर, सो स्थानमा बसोबास गर्नेहरूले भने आफूहरूलाई कसैले नराखी आफै बसोबास गरेको बताउँछन् । साथै एन्फा एकेडेमी पूर्वतर्फ पनि एन्फाको जग्गामा पिलर गाडेर अतिक्रमण गरिएको छ । तर, धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्ट्राई (मनोज) ले सबैभन्दा बढी सार्वजनिक संरक्षणमा लागेको बताए ।

उनले टहरा बनाएको क्षेत्रमा नगर प्रहरी लगेर उठाउन र सूचना टाँस्न आफैले भनेको बताए । सरकारी जग्गाको चलखेल भएकाले संरक्षण र घेराबारा गर्न लागेको उनले बताए । एन्फा उत्तरतर्फ उपमहानगरको जग्गाको टहरा हटाई खाली गर्न उपमहानगरले असार ५ गते ५ दिनको समय दिएर सूचना टाँस गरेको छ ।