पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले फोहोरलाई मलको रूपमा प्रयोग गर्ने भएको छ । फोहोरलाई मोहोरको रूपमा प्रयोगमा ल्याउन कम्पोष्ट मल उत्पादन गर्ने प्रयास थालेको हो ।

नगरपालिकाले केही समयता फिदिम बजारको फोहोर व्यवस्थापन गर्दै आएको छ । फिदिम–४ को थाक्लेमा नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा फोहोर व्यवस्थापन गर्दै आएको हो । 

नगरपालिकाले फोहोर सङ्कलनको अवस्थादेखि नै फोहोरलाई वर्गीकरण गर्दै वर्गीकृत फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने प्रयास थालिएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले बताए । उनी निर्वाचित भएसँगै फोहोर व्यवस्थापनमा सक्रियता देखाएका छन् । हाल फोहोरको डम्पिड साइड व्यवस्थापन र क्षेत्र विस्तार गरी थप व्यवस्थित गर्ने कार्य तीव्र रूपमा भइरहेको उनको भनाइ छ ।

नगरपालिका फोहोर व्यवस्थापन गरी बजार सफा र सुन्दर पार्ने अभियानमा जुटेको छ । अर्कोतर्फ फिदिम नगरपालिका–४ को थाक्लेमा सङ्कलित फोहोरलाई थप व्यवस्थित गरी फोहोरको वर्गीकरण गर्दै कम्पोष्ट मल उत्पादन गर्ने नीति लिएको छ ।

सोही अन्तर्गत कृषिविज्ञ क्यानेडीयन नागरिक ज्याकको समेत सहभागितामा डम्पिङ साइड क्षेत्रको अवलोकनसँगै फोहोरलाई मोहोरमा बदल्न पहलकदमी भइरहेको उपप्रमुख राधाकृष्ण न्यौपानेले बताए । यसको सम्भावना, चुनौती र अवसरहरू के के हुन सक्छन् ? भन्ने विषयमा छलफल अघि बढेको नगरपालिकाले जनाएको छ ।