डिपो आदर्श बहुमुखी क्याम्पसले प्रदेश १ स्तरीय मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ्ग कप २०७९’ आयोजना गर्ने भएको छ ।

डिपो विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष दिवङ्गत लिम्बुको स्मृतिमा श्रावण १५ गते देखि १९ गते सम्म प्रतियोगिता हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराए ।

धरान बास्केटबल संघको प्राविधिक सहयोगमा हुने विद्यालय स्तरीय प्रतियोगितामा यसै वर्ष एसईई दिएका विद्यार्थी खेलाडीहरूले सहभागी हुन पाउने डिपो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बुले पत्रकार सम्मेलनमा बताए। डिपो स्कुल यहाँ सम्म आइपुग्न दिवङ्गत मेजर श्रवणकुमारको ठुलो योगदान रहेको हुनाले उनको सम्मानमा प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष लिम्बूले जनाए ।

प्रतियोगिता आयोजनाको पहिलो संस्करणमा हाम्रो परिवारको पनि केही सहकार्य रहने छ । परिवारले प्रतियोगिता नियमित आयोजनाका लागि भने चाडै नै छुट्टै अक्षयकोष स्थापना गर्ने दिवङ्गत मेजर श्रवणकुमारका छोरा सुधीर लिम्बूले पत्रकार सम्मेलनमा उद्घोष गरे ।  

प्रतियोगिताका विजेता टिमले नगद पन्ध्र हजार, उपविजेता टिमले नगद सात हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसै गरी प्रतियोगिताका उत्कृष्ट खेलाडी र हाइस्कोररले जनही नगद दुई हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागिताको

अन्तिम मिति श्रावण १२ गते रहेको छ भने, १३ गते खेल तालिका सार्वजनिक गरिने डिपो क्याम्पसका प्रमुख राजकुमार राईले जानकारी गराए । प्रतियोगिता दर्ता शुल्क १५ सय लाग्नेछ ।

दिवङ्गत लिम्बु २०५९ देखि २०७८ सम्म डिपो सार्वजनिक शैक्षिक गुठीको संस्थापक अध्यक्ष रहेका थिए । यस्तै, २०४७ देखि २०६२ साल सम्म विद्यालय व्यवस्थापन समितिको वरिष्ठ सल्लाहकार तथा २०६२ देखि २०७८ साल सम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्षको रूपमा रहेको थियो । उनको नेतृत्वमा विद्यालयको निरन्तर विकास भई प्लस टु सम्म स्तर वृद्धि गरिएको लगायत विद्यालयको विकासमा विभिन्न योगदानहरू रहेको अध्यक्ष क्याप्टेन अम्बरबहादुर लिम्बूले बताए ।

आइतबार धरान १६ स्थित जेसन रेस्टो, क्याफे एन्ड बारमा आयोजित पत्रकार सम्मेलनमा बोर्ड अफ ट्रस्टिजका कार्यवाहक अध्यक्ष भिमराज लिम्बू, विद्यालय व्यवस्थापन समिति सदस्य वीरेन्द्र विक्रम लिम्बू, सदस्य सूर्य पन्धांक लिम्बू, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, धरान बास्केटबल संघका संस्थापक डिएसपी खगेन्द्र रिजाल लगायतको उपस्थिति रहेको थियो । प्रतियोगिताको सम्पूर्ण खेल डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न हुनेछ ।