विजयपुर । प्रबोध साप्ताहिक पत्रिका १२ औँ वर्ष प्रवेश गरेको अवसरमा ३ पत्रकारसहित ६ जनालाई नदगसहित सम्मान गरिएको छ ।शनिबार धरान–१२ स्थित होटल पूर्वी स्टारमा पत्रकार महासङ्घकी केन्द्रीय सदस्य सरिता बराइलीले सम्मान–पत्रसहित पुरस्कार प्रदान गरिन् ।

बालकृष्ण श्रेष्ठको स्मृतिमा स्थापित बाल ‘अंशु’ स्मृति पत्रकारिता पुरस्कार दिव्यरोशनी साप्ताहिककी सम्पादक मनिता चाम्लिङलाई प्रदान गरिएको हो ।

रेशबहादुर लम्जेल स्मृति साहित्यिक पत्रकारिता पुरस्कार कौशिकी द्वैमासिक साहित्यिक पत्रिकाका चेतनाथ धमलालाई प्रदान गरियो । त्यस्तै पदमकुमारी लम्जेल स्मृति लेखन पुरस्कार डिल्ली नेपाली र पतिश्वरा राई स्मृति साहित्य पुरस्कार सुमित्रा वाङ्देल ‘चेली’ लाई प्रदान गरिएको पत्रिकाकी सम्पादक जमुना श्रेष्ठले जानकारी दिइन् । उनीहरूलाई नगद ५ हजारसहित सम्मान गरिएको हो ।

साथै सामाजिक व्यक्तित्व मनप्रसाद देवान र गणेशकुमार देवानलाई पनि सम्मान गरिएको हो । विष्णु–नन्द स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार पीबी दियालीलाई प्रदान गर्ने निर्णय भए पनि पुरस्कार ग्रहण गर्न नआएपछि रद्द गरिएको पत्रिकाका प्रकाशक लम्जेल सङ्घर्षशीलले जानकारी दिए । उनका अनुसार उक्त पुरस्कार साहित्यिक पत्रिकाको वार्षिक उत्सवमा अर्कै व्यक्ति छनौट गरी प्रदान गरिनेछ । कार्यक्रममा फोनिज १ नं. प्रदेशका अध्यक्ष शन्तवीर लामा, जसपा धरान अध्यक्ष ताजुव लिम्बूलगायतको उपस्थिति रहेको थियो ।