पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकामा गत असार १७ गतकोे पहिरोमा परी तीन जनाले ज्यान गुमाएका छन् । अविभावक गुमाएका परिवारका सदस्यलाई नेपाली सेनाको फिदिमस्थित रणशेर गणले घर निर्माण गरिदिएको छ । अभिभावक गुमाएका पाँचथरको फालेलुङ–७  निवासी पीडितलाई गणले घर निर्माण गरी जिम्मा लगाएको हो ।

गाउँपालिकाको सहयोग र जनसेवा समाज पाँचथरसँगको सहकार्यमा गणले तीनवटा कोठा भएको घर निर्माण गरेको हो । घर निर्माणका लागि नेपाली सेनाका १६ जना जनशक्ति १२ दिनसम्म खटेका थिए । अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोले घर बगाउँदा फालेलुङ–७ का रूपलाल मगर, उनकी श्रीमती र भतिजी सविना मगरको ज्यान गएको थियो ।

पहिरोबाट ज्यान गुमाएपछि अविभावकविहीन बनेका छोरा प्रसन र छोरी करुणा मगरका लागि घर बनाउन नेपाली सेनाले सक्रियता देखाएसँगै जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीले गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ र परिवार बीच छलफल गर्दै निर्माण प्रक्रिया अगाडि बढाउन सहजीकरण गरेका थिए ।

घर निर्माणका लागि गाउँपालिकाले जस्तापाता, वडा कार्यालयबाट काठसहितका सामग्री सहयोग प्राप्त भएको थियो । ढुङ्गा, बालुवा र काठ प्रयोग गरिएको घरमा सिमेन्ट प्लाष्टर गरिएको छ । 

नवनिर्मित घर शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । घर हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङ, रणशेर गणका गणपति सुरज राउत, रेडियो मितेरीका अध्यक्ष लक्ष्मी गौतम र जनसेवा समाजका अध्यक्ष राजेन्द्र अधिकारीलगायतले निर्माणमा सहयोग गर्ने र खट्ने सबैलाई धन्यवाद दिएका थिए ।