संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटरेसले अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलालाई ‘नैतिकता धरोहर’ का रूपमा चित्रण गर्दै उनले छाडेर गएको विरासतको सम्मान गर्न आह्वान गरेका छन् ।  

“नेल्सन मण्डेला समुदायका समस्या समाधान गर्ने क्षमता भएका महान् व्यक्ति हुनुहुन्थ्यो, उहाँमा हामी सबैको समुज्ज्वल भविष्य निर्माण गर्ने क्षमता र जिम्मेवारीबोध थियो,” महासचिव गुटरेसले नेल्सन मण्डेला अन्तर्राष्ट्रिय दिवसका  अवसरमा उनिप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै भनेका छन् ।  

युद्ध, द्वन्द्व,जातिवाद, भेदभाव, गरिबी र असमानताले पिरोलिएको वर्तमान विश्वमा जलवायु प्रकोपले थपेको चुनौतीको सामना गर्न मण्डेलाका दर्शन र प्रेरणा आज पनि उत्तिकै उपयोगी हुने अभिमत उनले जाहेर गरे । न्यायपूर्ण समाज निर्माण तथा मानवताको प्रवद्र्धनमा मण्डलाले गरेको योगदान सधैँ स्मरणीय रहने उनले बताए ।