विजयपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, कोशी प्रदेश समितिले सामाजिक सद्भाव कायम गर्दै अवरुद्ध राजमार्ग तथा सार्वजनिक यातायात सञ्चालनको वातावरण बनाउन सरकारसँग माग गरेको छ ।


महासंघ कोशी प्रदेशका अध्यक्ष सरोज श्रेष्ठले अपिल जारी गर्दै सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा साउन १० गते भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै शान्ति, सामाजिक सद्भाव र नियमित यातायात सञ्चालन सुनिश्चित गर्न आग्रह गरेका हुन्।


महासंघले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा र झडपबाट सम्भव नहुने उल्लेख गरेको छ। धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी एकता र भाइचाराको संरक्षण गर्नु सबैको जिम्मेवारी भएको भन्दै महासंघले सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।


अपिलमार्फत अफवाह, भ्रामक सूचना तथा कसैको उक्साहटमा नलाग्न नागरिक, धार्मिक तथा सामाजिक संघ–संस्था र सरोकारवालालाई अनुरोध गरिएको छ। संवेदनशील परिस्थितिमा सामाजिक तनाव बढाउने गतिविधिबाट टाढा रहँदै शान्ति कायम गर्न सबैको सहयोग आवश्यक रहेको महासंघको भनाइ छ।


महासंघले घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।


यातायात सेवा अत्यावश्यक सार्वजनिक सेवा भएकाले राजमार्ग तथा सार्वजनिक यातायात सुरक्षित र सहज रूपमा सञ्चालन हुने वातावरण तत्काल बनाउनुपर्ने महासंघले जनाएको छ। यात्रुहरूलाई असहजता नहोस् भन्ने उद्देश्यले शान्तिपूर्ण वातावरण निर्माण गरी नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन सरकार, सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँग आग्रह गरिएको छ।


महासंघले राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक संघ–संस्था, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न साझा प्रयास गर्न आह्वान गरेको छ ।


जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न विभिन्न स्थानीय तह र राजमार्ग आसपासका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव अर्यालले जारी गरेको आदेशअनुसार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा सुनसरीका संवेदनशील क्षेत्रमा निषेधाज्ञासरहको निषेधित क्षेत्र लागू गरिएको हो । इटहरी उपमहानगरपालिका–१६ र १७ अन्तर्गत पर्ने महेन्द्र राजमार्गको २ सय मिटर दायाँ–बायाँ क्षेत्रसहित धरान र बराहक्षेत्रबाहेक सुनसरीका १० स्थानीय तहमा कफ्र्यु लगाइएको छ ।