विजयपुर । सुनसरीको धरान–२ स्थित भानुचोकदेखि पश्चिमतर्फको देशीलाइन सडक पुनः दुईतर्फी सञ्चालन गर्न माग गर्दै स्थानीय व्यवसायीहरूले प्रदर्शन गरेका छन् । व्यवसायीहरूले सडकमै तगारो राखेर केहीबेर यातायात अवरुद्ध गरी धर्नासमेत दिएका थिए ।
इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर बबिन राईका अनुसार व्यवसायीहरूले सडकमा तगारो राखेर अवरोध सिर्जना गरेका थिए । उनका अनुसार प्रहरीले अवरोध हटाएर यातायात पुनः सञ्चालनमा ल्याएको छ । “सडकमा तगारो राखेर अवरोध गरिएको थियो । हामीले हटाएर सडक सञ्चालनमा ल्याएका छौं ।” उनले भने, “एकतर्फी यातायात व्यवस्था स्थानीय सरकारको निर्णयअनुसार लागू भएको हो । सुचारुको विषयमा स्थानीय सरकारसँग समन्वय गर्न व्यवसायीहरूलाई आग्रह गरेका छौं ।”
प्रहरीले अवरोध हटाउने क्रममा केहीबेर व्यवसायी र प्रहरीबीच धकेलाधकेलसमेत भएको थियो । व्यवसायीहरूले एकतर्फी यातायात व्यवस्थाका कारण ग्राहकको आवतजावत घटेको र व्यापारमा प्रत्यक्ष असर परेको भन्दै देशीलाइन सडक दुईतर्फी सञ्चालन गर्न माग गरेका छन् ।
धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले भानुचोक व्यवस्थापन अध्ययन समितिसँग दुईपाङ्ग्रे सवारीसाधन (मोटरसाइकल तथा स्कुटर) लाई दुईतर्फी सञ्चालन गर्ने विषयमा छलफल भएको जानकारी दिए । उनले भने, “दुईपाङ्ग्रे सवारीलाई दुईतर्फी सञ्चालन गर्ने विषयमा छलफल भएको हो । तर कार्यवाहक नगर प्रमुखको व्यस्तताका कारण हालसम्म कुनै निर्णय भएको छैन ।” भानुचोक व्यवस्थापन अध्ययन समितिको संयोजक धरान–२ का वडाध्यक्ष रमेश राई रहेका छन् । बजार अनुगमन अधिकृत सापकोटाका अनुसार छलफलका क्रममा ट्राफिक प्रहरीले भने हालको एकतर्फी यातायात व्यवस्था नै उपयुक्त हुने धारणा राखेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख इन्स्पेक्टर अनिल माबोहाङले सडकलाई दुईतर्फी बनाउँदा दुर्घटना र ट्राफिक जामको जोखिम बढ्ने बताए । उनले भने, “दुईतर्फी सञ्चालन हुँदा क्रसिङ हुन्छ । जसले ट्राफिक जाम र दुर्घटनाको सम्भावना पनि बढाउँछ । उत्तरतर्फबाट आउने हेभी लोड सवारी आउने र यता भानुचोकबाट पनि प्रवेश गराउँदा दुर्घटनाको जोखिम बढ्छ ।” उनले थपे, “दुर्घटनाको जोखिम बढ्ने भएकाले सञ्चालन गर्न हुन्न भन्छु ।”
धरान उपमहानगरपालिकाले २०७९ फागुन ८ गतेदेखि बजार क्षेत्रमा एकतर्फी (वान–वे) यातायात व्यवस्था लागू गरेको थियो । भानुचोकदेखि उत्तरतर्फ लक्ष्मीचोकसम्म सवारी सञ्चालन हुने व्यवस्था गरिएको छ । उत्तर पहाडी क्षेत्रबाट आउने सवारीसाधनलाई लक्ष्मीचोक–पृथ्वीचोक–सिंहदेवी–माछाभौडी–देशीलाइन हुँदै भानुचोक प्रवेश गर्ने व्यवस्था लागू गरिएको छ । उक्त व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै स्थानीय व्यवसायीहरूले देशीलाइन सडकलाई पुनः दुईतर्फी सञ्चालन गर्न माग गर्दै आएका छन् ।