विजयपुर । रोट्र्याक्ट क्लब अफ धरान घोपाले रोटा वर्ष २०२६/२७ को पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।


आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा आयोजित कार्यक्रममा निवर्तमान नेतृत्वले नवनिर्वाचित नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको थियो । साथै, रोटा वर्ष २०२६/२७ का नवगठित बोर्ड अफ डाइरेक्टर्सलाई पद तथा गोपनीयताको शपथ गराइएको थियो ।


कार्यक्रममा बीपी प्रतिष्ठानका पूर्वउपकुलपति प्रा. डा. विक्रम प्रसाद श्रेष्ठ, प्रा. डा. चन्द्रशेखर अग्रवाल, जोनल रोट्र्याक्ट प्रतिनिधि (DRR) प्रेम पारख, अलंकार पालिखे, किशन मास्केलगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा निवर्तमान अध्यक्ष अभिषेक प्रधानले आफ्नो कार्यकालको समीक्षा प्रस्तुत गर्दै क्लबको गतिविधि र उपलब्धिबारे जानकारी गराएका थिए । उत्कृष्ट योगदान पुर्‍याएका सदस्यहरूलाई ‘रोट्र्याक्टर अफ द मन्थ’, ‘रोट्र्याक्टर अफ द इयर’, ‘बेस्ट एभेन्यु’, ‘बेस्ट बोर्ड अफ डाइरेक्टर्स’ तथा ‘राइजिङ रोट्र्याक्टर’ लगायतका विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।


नवनिर्वाचित अध्यक्ष अञ्जली सुवेदीले क्लबलाई सेवा, नेतृत्व विकास, मित्रता तथा समुदायप्रति समर्पित भावनाका साथ अझ सक्रिय र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।