धरान । परिवर्तनका लागि सामाजिक अभियानले धरान–१५ स्थित श्याम चोक सेवा समाजमा सामाजिक स्वास्थ्य क्लिनिकको २० औँ संस्करण सम्पन्न गरेको छ । 

श्याम चोक युवा समूहको सहकार्यमा अभियानले ७० वर्षभन्दा माथिका ८५ जना ज्येष्ठ नागरिकलाई सेवा दिएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त साहसँगको सहकार्यमा पाक्षिक रूपमा निःशुल्क क्लिनिक गर्दै आएको छ । गाउँघरमै सेवा पाएकामा स्थानीय ज्येष्ठ नागरिकहरू हर्षित देखिएको अभियानका अध्यक्ष विष्णु बरालले जानकारी दिए । 

अभियानको उद्घाटन धरान १५ का वडाध्यक्ष नरेशकुमार इङ्वारमले गरेका थिए । उनले २० औँ संस्करणसम्म निरन्तर कार्यक्रम आयोजना हुनु असाधारण कार्य भएको बताए । अभियानले विगत ११ महिनादेखि निरन्तर रूपमा कार्यक्रम गर्दै आएको अध्यक्ष बरालले जानकारी दिए । स्वास्थ्यसँगै शिक्षा र पर्यटनमा पनि काम गर्दै आएको छ । अभियानले शिक्षातर्फ ‘घरको स्कूल’ र पर्यटनतर्फ ‘चित्रकारिता’ र धार्मिक पर्यटकीय क्षेत्रको लघु भिडियो निर्माण गरेको छ । 

संयोजक त्रिभुवन बरालका अनुसार अभियानलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स निर्मला बास्ताले रक्तचाप परीक्षण गरेकी थिइन् । विशेष गरी मुटु रोगबाट हुने समस्याको निराकरणका लागि ज्येष्ठ नागरिकलाई लक्षित गर्दै अभियानले कार्यक्रम गरिरहेको संयोजक बरालले जानकारी दिए । 

कार्यक्रममा अभियानका सल्लाहकार मोहन श्रेष्ठ, वर्षा अग्रवाल श्रेष्ठ, जेनिश शाक्य, विजय श्रेष्ठ, हेम ढकाल, निशान नेपाललगायतको उपस्थितिमा कार्यक्रम गरिएको हो ।