बिर्तामोड । साहित्य चौतारीले २३ औँ वार्षिकोत्सव मनाएको छ । २०९ औँ भानु जयन्तीसहित साहित्य चौतारीले वार्षिकोत्सव मनाएको हो ।

२०५६ असार ३१ गते साहित्य चौतारीको स्थापना भएको थियो । राष्ट्रकवि माधवप्रसाद घिमिरेको बाहुलीबाट उद्घाटन भएको चौतारीले साहित्य, सङ्गीत, कला, भाषा र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान गर्दै आएको छ ।

वार्षिकोत्सवको अवसरमा चौतारीले सङ्गीत साधक कुशेश्वर राईलाई ‘विशिष्ट सङ्गीत सम्मान’ अर्पण गरेको छ । शास्त्रीय सङ्गीतलाई पूर्वमा स्थापित गर्ने मिहिनेती प्रतिभाका रूपमा राईले आफ्नो परिचय बनाएका छन् ।

सङ्गीत साधक राईलाई कार्यक्रमका प्रमुख अतिथि इलाम निवासी लोकगायक देवीप्रसाद गौतम, साहित्य चौतारीका संरक्षकद्वय देवीभक्त श्रेष्ठ र उर्मिला बिमली तथा चौतारीका अध्यक्ष हस्त परियारले दोसल्ला ओढाएर प्रशंसा–पत्रसहित सम्मान गरेका छन् ।

कार्यक्रममा उपस्थित विराटनगर निवासी राईले आफूलाई साहित्य चौतारीले सम्झिएकोमा हर्ष लागेको बताए । राई २३ वर्षदेखि पूर्वीय लोकभाका र शास्त्रीय सङ्गीतको विकासमा निरन्तर क्रियाशील छन् ।

साहित्य चौतारीका सङ्गीत उपाध्यक्ष दीपक रायमाझीले राईको जीवनीमाथि प्रकाश पार्दै एउटा विशिष्ट प्रतिभालाई सम्मान गर्न पाउँदा धेरै खुसी लागेको बताए । साहित्यतर्फका उपाध्यक्ष कृष्ण सुवेदी निराकारले राईको कदर–पत्र वाचन गरेका थिए ।

सिंहवाहिनी महिला समूहको नौमती बाजासहित आयोजना गरिएको कार्यक्रममा गीत गायनका साथै नृत्यसमेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा अध्यक्ष परियारले वार्षिक कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संरक्षक श्रेष्ठले रामायणका केही श्लोक वाचन गरेर भानुभक्तप्रति श्रद्धा व्यक्त गर्दै साहित्य चौतारीको यात्रामा धेरै सहयात्री रहेको बताए । प्रमुख अतिथि गौतमले कार्यक्रममा दुईवटा लोकभाकाका गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै बिर्तामोडका उपमेयर नगेन्द्रप्रसाद सङ्ग्रौलाले साहित्यिक अभियानमा चौतारीको भूमिका प्रशंसनीय रहेको बताएका छन् । प्राज्ञसभा सदस्य शुभद्रा अर्यालले धेरै साहित्यिक प्रतिभा जन्माएको साहित्य चौतारी अब युवा भएको बताइन् । कार्यक्रममा मोरिक कला केन्द्र र साधना कला केन्द्रका विद्यार्थीले गीत सङ्गीत र नृत्य प्रस्तुत गरेको साहित्य चौतारीकी सचिव खगिन्द्रा खुसीले बताइन् ।

कार्यक्रममा सहभागिता जनाउन भारतबाट पनि कलाकार र स्रष्टा–सर्जकहरू उपस्थित भएका थिए । पश्चिम बङ्गालको सिलिगुडीबाट सुमन निरौला र जीवन अधिकारीसहितको टोली कार्यक्रममा सहभागी भएको थियो ।

काव्यसभा संयोजक सुनिता तामाङका अनुसार कार्यक्रममा कुमारी चेम्जोङ, मनिषा भट्टराई, समिर खरेल, जयनारायण भट्टराई, लिसारा थापा, शिव अधिकारी (इलामे जेठो), सरगम सङ्गीतालय, रक्षा तिम्सिना, राधाकृष्ण मण्डलीलगायतका तर्फबाट गीत सङ्गीत प्रस्तुत र साहित्यिक रचना वाचन गरिएको थियो ।

सहभागी अतिथिहरूलाई संरक्षक श्रेष्ठ र अध्यक्ष परियारलगायतले मायाको चिनो हस्तान्तरण गरेका छन् । औपचारिक कार्यक्रमअघि सिंहवाहिनी महिला समूहको नौमती बाजागाजासहित प्रभातफेरि आयोजना गरिएको थियो ।

Sahitya-Chautari-Samman-(5)