विजयपुर । धरान–३ माछाभौडीदेखि धरान–१ लक्ष्मी चोकसम्म एकतर्फी रूपमा मात्रै पार्किङ गर्नुपर्ने भएको छ ।

धरान उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सम्बन्धित वडा कार्यालयको संयोजकत्वमा दुईतर्फी पार्किङ गर्न नपाइने निर्णय गरिएको धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । उनका अनुसार माछाभौडीदेखि पुरानो बजार हुँदै लक्ष्मी सडकसम्म ‘वान वे’ पनि गरेको र भीडभाड पनि हुने भएकाले एकतर्फ मात्र पार्किङ गर्न पाउने निर्णय गरेको हो । सो क्षेत्रमा ‘नो पार्किङ’ लेखिएको बोर्ड पनि राखिएको छ ।

धरान–३ का वडाध्यक्ष विद्या शाक्यका अनुसार प्रतिबोर्ड १ हजार २ सय रुपैयाँमा निर्माण गरिएको हो । उनले भने, ‘१२ सय बोर्डलाई १ सय रुपैयाँ जडान गर्न दिएका छौं ।’ उनले उक्त क्षेत्रमा भीडभाड र हेबी गाडी आउने भएकाले दुर्घट्नाको जोखिम भएकाले एकतर्फ मात्रै पार्किङ गर्न लागिएको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रमुख इन्स्पेक्टर श्यामकुमार बस्नेतले दुर्घटनाको जोखिम भएकाले एकतर्फ पार्किङ गर्ने निर्णय गरेको बताए । उनले भने, ‘स्थानीय जनप्रतिनिधि, उद्योगी, व्यवसायी सबैले सहयोग गर्नुपर्छ ।’ उनले भानुचोकदेखि बाइपास पनि गरिएकाले दुर्घटनालाई न्यूनीकरण गर्न व्यवस्थापन गरिएको बताए ।

साथै उत्तरबाट आउने यातायातका साधन एउटा दुर्घटना भएमा अन्यलाई धेरै क्षति हुने भएकाले एकतर्फ पार्किङ गरिएको छ । यस्तै माछाभौडीमा टेम्पो पनि ५ वटा मात्र पार्किङ गर्न पाइने भएको छ । धरान उपमहानगर बजार अनुगमन अधिकृत सापकोटाले वडा नं. १, २ र ३ क्षेत्रमा फुटपाथ पनि व्यवस्थापन गरिने बताएका छन् ।