विजयपुर । सुनसरी उद्योग वाणिज्य सङ्घमा नवनिर्वाचित पदाधिकारीहरूलाई पदस्थापन गरिएको छ ।

बिहीबार सङ्घको हलमा एक कार्यक्रमका बीच असार २० गते सम्पन्न निर्वाचनमा निर्वाचित पदाधिकारीहरूलाई पदस्थापन गरिएको हो । पदास्थापन कार्यक्रममा १ नं. प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले उद्योगी व्यवसायी र सरकार सँगसँगै अघि बढ्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डीराज ढकालले आगामी आर्थिक वर्षको बजेट कर्पोरेट हाउसमैत्री भएको बताए । निवर्तमान अध्यक्ष गिरिधारी सापकोटाले करको दर नबढाई दायरा बढाउन उपमहानगरपालिकालाई आग्रह गरे । सङ्घको अध्यक्षमा विजय श्रेष्ठ निर्वाचित भएका थिए ।

उद्योगतर्फ पीयुषराज आचार्य, प्रभाव खतिवडा, महेन्द्र प्रधान र विष्णु बराल निर्वाचित भएका थिए । वाणिज्यतर्फ नवीन राजभण्डारी, शशी साह, जयप्रकाश शर्मा र किशन मास्के, शैलेसकुमार आचार्य, राजेश अग्रवाल, उपेन्द्र चाम्लिङ र मनोजकुमार तोदी निर्वाचित भएका थिए । वाणिज्यतर्फ महिलामा वर्षा अग्रवाल श्रेष्ठ निर्वाचित भएकी थिइन् । एसोसिएटतर्फ गोपाल श्रेष्ठ, राजु साह र अशोक जैन निर्वाचित भएका थिए ।

उद्योगतर्फ महिला सदस्य स्तुती श्रेष्ठ रहेकी छन् । उनीहरूलाई निर्वाचन कार्यालयका प्रमुख डा. राजेन्द्र शर्माले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । पदस्थापन कार्यक्रममा पुराना व्यवसायी गणेश अग्रवाललाई सम्मान गरेको सङ्घका निवर्तमान महासचिव राजेश अग्रवालले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा निवर्तमान अध्यक्ष राजेन्द्र साह, उद्योग वाणिज्य महासङ्घ उपाध्यक्ष दिनेश श्रेष्ठ, रामचन्द्र सङ्घाई, प्रदेश सांसद् चन्द्रप्रसाद श्रेष्ठ, उमिता विश्वकर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घका प्रदेश अध्यक्ष टीकाराम ढकाल, धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघा, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जयसिंह थापालगायतको उपस्थिति रहेको थियो ।