इनरुवा । पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुने सुनसरी प्रदेश १ को अन्तिम जिल्ला बनेको छ ।

७ वर्षको तयारीपश्चात् पूर्ण खोप सुनिश्चित जिल्ला बनेको सुनसरी घोषणाको सवालमा भने प्रदेशका अन्य १३ जिल्लाभन्दा पछि परेको हो ।

प्रदेशको अन्तिम पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको सुनसरी मुलुकभरका पूर्ण खोप सुनिश्चित भैसकेका जिल्लाको सूचीमा भने ६५ औं स्थानमा परेको छ ।

सुनसरीलाई प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पूर्ण खोप सुनिश्चित जिल्ला बनेको घोषणा गरेका हुन् । कार्यक्रमलाई सम्बोधनका क्रममा मन्त्री कार्कीले निरन्तरको अभियानमा  स्वयम्सेविकाका साथै स्वास्थ्यकर्मीलगायतको भूमिकाको प्रशंसा गरे । उनले घोषणा मात्रले नहुने भएकाले पूर्ण कार्यान्वयनको पाटोमा सबैको साथ आवश्यक रहेकोमा जोड दिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले घोषणा सभापूर्वको तयारी र सार्वजनिकीकरणसम्म आइपुग्दाको विगत र वर्तमानबारे अवगत गराए ।

जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखका साथै सुनसरीका प्रमुख जिल्ला अधिकारीसहित सरोकारवालालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्थानीय तह अन्तर्गत रहेका स्वास्थ्यसंस्थाका इन्चार्जका साथै स्वयम्सेविकालगायतलाई सम्मानसमेत गरियो । पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यान्वयनका लागि कार्यक्रममा उपस्थित स्थानीय तहका प्रमुखका साथै जिल्लास्थित सरोकारवालाहरूलाई सामूहिक प्रतिबद्धता समेत जनाउन लगाइएको थियो ।

पूर्ण खोप सुनिश्चितताका लागि बालबालिकाले पाउनु पर्ने सबै खोप लगाएको हुनुपर्छ । अझ त्यसमा पनि १६ महिनादेखि २३ महिनाको उमेरभित्र पाउनु पर्ने सबै प्रकारका खोप बालबालिकाले पाएको हुनुपर्छ । त्यसको सुनिश्चिततापछि मात्र कुनै पनि जिल्ला पूर्णखोपयुक्त जिल्ला घोषणाका लागि योग्य ठहरिन्छ ।