विराटनगर । सरकारी मोटरसाइकल दुरुपयोग गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा हालेको भन्दै मोरङको जहदा गाउँपालिकाका एक वडाध्यक्षले स्थानीयलाई निर्घात कुटपिट गरेको आरोप लागेको छ ।

जहदा गाउँपालिका–४ का वडाध्यक्ष शिवशङ्कर गामीले सोही ठाउँका ४० वर्षीय गुरुचरण महतोलाई निर्घात कुटपिट गरेको पीडितको आरोप छ । अध्यक्ष गामीले कुदाउने को.१ ब १५८४ नम्बरको पल्सर मोटसाइकल वडाध्यक्षका भतिज राहुल गामीले बिदाको दिन कुदाएको भिडियो खिचेर स्थानीय महतोले गत शनिबार सामाजिक सञ्जालमा हालेका थिए ।

वडाध्यक्षको मोटरसाइकल दुरुपयोग गरेको भन्दै सामाजिक सञ्जालमा सार्वजनिक गरेको केहीबेरमा भाइरल भएर वडाध्यक्ष गामीको आलोचना भएपछि उनले कुटपिट गरेको महतोले बताए ।

‘बिदाको दिन वडाध्यक्षको भतिजाले सरकारी मोटरसाइकल लिएर विराटनगर आउँदै गर्दा कटहरी बजारमा मैले भिडियो खिचेको थिएँ । उक्त भिडियो धीरज ठाकुरले सामाजिक सञ्जालमा हालेको रहेछ । त्यसको केहीबेरमा भाइरल पनि भयो’ पीडित महतोले भने, ‘त्यसपछि वडाध्यक्षसहित ९–१० जनाको समूहले जहदाको रामचौकमा रहेको पेट्रोल पम्पमा आएर मलाई निर्घात कुटपिट गरेको छ । अपशब्द बोल्दै मलाई वडाध्यक्षसहित आएकाहरूले लात्ती, मुक्का प्रहार गरे ।’

कुटपिटबाट हात, टाउको र शरीरका विभिन्न भागमा चोटपटक लागेको उनले बताए । ‘अहिले पनि वडाध्यक्षसहितको समूहले ज्यान मार्ने धम्की दिने गरेको छ’ महतोले भने, ‘मेरो ज्यानको सुरक्षाका लागि स्थानीय प्रशासनलाई पनि जानकारी गराएको छु ।’

सरकारी गाडीको दुरुपयोग गरेको घटना उजागर गर्दा आफूमाथि कुटपिट गर्ने वडाध्यक्षसहित प्रहरीमा उजुरी पनि दिएको उनले बताए । ‘प्रहरीमा पनि उजुरी दिएको छु’ उनले भने, ‘तर, अहिलेसम्म कुनै कारबाहीको प्रक्रिया अगाडि बढाएको छैन ।’

यता वडाध्यक्ष गामीले आफूलाई बदनाम गराउने उद्देश्यले केही समूह लागिपरेको बताए । सामान्य भानभन मात्र भएको स्वीकार गर्दै आफूले कसैलाई पनि कुटपिट नगरेको वडाध्यक्ष गामीको भनाइ छ । ‘चुनावमा हारेको रिस फेर्न केही समूह लागिपरेका छन्’–वडाध्यक्ष गामीले भने ।