धरान । लायन्स क्लब स्थापनाको ५१ वर्षे इतिहासमा धरानबाट पहिलो पटक डिष्ट्रिक गभर्नर भएको समूहलाई सम्मानित गरिएको छ ।

एरिया ५ अन्तर्गत पर्ने सुनसरीको धरान र धनकुटाको भेडेटारका १८ वटा लायन्स क्लबले एकसाथ सोमबार डिष्ट्रिक गर्भनरहरूलाई सम्मानित गरेको हो ।

लायन्सका प्रमुख जनसम्पर्क अधिकृत विपिन इङ्वारमका अनुसार डिष्ट्रिक गभर्नर धीरज गुरुङ, प्रथम भाइस डिष्ट्रिक गभर्नर नरनाथ सापकोटा, द्वितीय भाइस डिष्ट्रिक गभर्नर विकास अधिकारी, सेक्रेटरी लीला चिमरिया र कोषाध्यक्ष बबरजङ थापालाई सम्मानित गरिएको हो ।

सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि इलाका प्रशासन कार्यालय धरानका प्रमुख चूडाराज भट्टराई, लायन्सकी एरिया प्रमुख कविता लिम्बूलगायतले सम्मान–पत्र हस्तान्तरण गरे ।

नेपालमा पहिलो पटक मोरङको विराटनगरमा दिवङ्गत पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले लायन्स क्लब अफ विराटनगर सुरु गरेको इतिहास छ । त्यसयता लायन्सका विभिन्न प्रशाखाहरू स्थापना भएका छन् । धरानबाट भने पहिलो पटक मात्रै डिष्ट्रिक गभर्नर बनेको अधिकृत इङ्वारमले जानकारी दिए ।

कार्यक्रममा धरान जेसीज, रोटरी, नेपाल रेडक्रस सोसाइटी, महिला सञ्जाल, नेपाल पत्रकार महासङ्घका प्रतिनिधिहरू सहभागी थिए । विश्वमा भने लायन्स अमेरिकामा सन् १९१७ बाट सुरु भएको मानिन्छ ।