सुनसरी  । कोसी गाउँपालिका–१ लौकहीस्थित सिद्धार्थ किराना पसलमा भन्सार छली ल्याइएको अवैध सामान रहेको सूचनाअनुसार सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजबाट खटिएको टोलीले आइतबार दिउँसो अनुगमन गरी डेढलाख बढीको विभिन्न किराना सामान बरामद गर्यो ।

सूचनाअनुसार भन्सार कार्यालयबाट भन्सार अधिकृत पर्शुराम दाहाल नेतृत्वको टोलीले सशस्त्र प्रहरीको सहयोगमा स्थानीय सिद्धार्थ किराना पसलबाट अवैध रूपमा भन्सार छली ल्याइएको ५० केजी दरका ४० बोरा एकलाख २० हजार बराबरको चिनी, पाँचहजार चारसय रुपैयाँ बराबरको ६० केजी पापड, चारहजार पाँचसय बराबरको ३० केजी हरियो मटर, पाँचहजार दुईसय ५० रुपैयाँ बराबरको ७५ केजी पास्तालगायत गरी एकलाख ३९ हजार तीनसय ५० रुपैयाँ बराबरको किराना सामान बरामद गर्यो ।

यसैगरी सोही दिन सुनसरी भन्सार कार्यालयबाट खटिएको टोलीले कोसी गाउँपालिका–१ लौकहीस्थित शङ्कर किराना पसलबाट समेत भन्सार छली ल्याएको भन्दै ३६ हजार बराबरको ६ सय केजी चिनी बरामद ग¥यो । पछिल्लो समयमा खासगरी सुनसरी भन्सार कार्यालयले कोसी गाउँपालिकाको लौकही र भण्टाबारी क्षेत्रबाट किराना सामान र कपडा बरामद गर्ने क्रम बढेको पाइन्छ ।

सीमावर्ती भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्र्याउने विभिन्न सामान सीमामा तैनाथ सुरक्षाकर्मीका साथै भन्सारका कर्मचारीले बरामद गर्ने क्रम बढेको हो । घरायसी प्रयोजनका लागि सरसामान किनमेल गर्न भारतीय बजार जाने गरेका छन् भने धेरै ग्राहक बनेर  व्यापारिक प्रयोजनका लागि जाने गरेका छन् ।

घरायसी किनमेल गर्न भारतीय बजार जाने ग्राहकलाई सीमामा तैनाथ सुरक्षाकर्मीले केही सहजता दिएको मौकाको फाइदा उठाएर व्यापारीहरूले भन्सार छलेर लाखौंको सामान नेपाल भित्र्याउने गरेका छन् । भारतीय बजारमा सस्तोमा किन्ने र नेपाली बजारमा महँगोमा बेच्ने उद्देश्यले व्यापारीहरूले विभिन्न सामान तस्करी गराउँदै आएका छन् । भारतीय बजारमा किनमेल गरे पनि व्यापारीहरू आफैले भने सामान वारिपारि गर्दैनन् ।

सीमावर्ती क्षेत्रका स्थानीय महिला, बालबालिका तथा युवावर्गलाई सामान वारि पारी गराउन व्यापारीहरूले प्रयोग गर्दै आएका छन् । भारतीय बजारबाट सामान नेपाल भिœयाए बापत उनीहरूले एकपटकमा २ सयदेखि ४ सयसम्म सामान अनुसारको पैसा व्यापारीबाट पाउँछन् । एक पटकमा थोरै मात्रामा उनीहरूले भारतीय बजारबाट भन्सार छलेर सामान नेपालतर्फ भित्र्याउने गरे पनि सामान्य चेकजाँच बाहेक सीमामा तैनाथ सुरक्षाकर्मीले खासै वास्ता गर्दैनन् ।

पटक–पटक एउटै व्यक्तिले सामान ओसार–पसार गरेको पाएपछि प्रहरीले भन्सार कटाउन भन्दा उनीहरू घरायसी प्रयोजनको लागि भन्दै प्रहरीसँगै विवाद गर्न थाल्छन् । दिनहुुँ भारतीय बजारबाट ल्याइएको विभिन्न सामान सीमावर्ती क्षेत्रको पसल वा कसैको घरमा भण्डारण गरी राख्ने र रातको समयमा व्यापारीहरूले गन्तव्यसम्म पु¥याउने गरेका छन् । यसरी राखेको सामान पछिल्लो समय बरामद गर्न थालिएको हो । सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीले निगरानी बढाए पनि चोरबाटो हुँदै चोरीपैठारी हुने गरेको बताउँदै सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजका निमित्त कार्यालय प्रमुख पर्शुराम दाहालले त्यस्ता गतिविधि न्यूनीकरण गर्न आफूहरू लागिपरेको बताए ।

सामान बरामद गर्दा घूस मागेको आरोप
यसैबीच सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेजका कर्मचारीमाथि घूस मागेको आरोप लगाइएको छ ।

आइतबार बिहान आफ्नो पसलमा आएर सुनसरी भन्सार कार्यालयका नायव सुब्बा राजेन्द्रप्रसाद ढुङ्गानाले सबैतिर लाइन मिलाइदिन्छु भन्दै एकलाख रुपैयाँ मागेको र आफूले काम चलेको छैन, कहाँबाट ल्याएर दिनु भनेपछि दिउँसो आएर सामान बरामद गर्ने काम भएको कोसी गाउँपालिका वडानम्बर १ स्थित लौकहीका किराना पसल सञ्चालक शङ्कर साहले आरोप लगाए । उनले केही दिनअगाडि आफ्नो पसलबाट ढुङ्गानाले १८ हजार मूल्य बराबरको विभिन्न सामान लगे पनि अझैसम्म पैसा तिरेको बताए ।

यता अवैध सामान बरामद गरेपछि काम गर्ने कर्मचारीलाई बदनाम गर्ने उद्देश्यले आफूमाथि निराधार प्रचारबाजी गर्ने काम भएको भन्सारका नायव सुब्बा ढुङ्गानाले बताए । उनले आफूमाथि लगाइएको आरोप प्रमाणित गर्न चुनौती समेत दिए । केही समय अगाडि शङ्कर किराना पसलबाट आफूले आफ्नो व्यक्तिगत प्रयोजनका लागि नभई भन्सार छली गरेको सामान बरामद गरी ल्याएको नायव सुब्बा ढुङ्गानाको दाबी छ ।

यता कोसी गाउँपालीका वडा नम्बर १ का वडाध्यक्ष शोभित यादवले भन्सारका कर्मचारीले स्थानीय जनप्रतिनिधिसँग समन्वय नगरी आफूखुसी पसलमा छापा हान्ने काम गरेको गुनासो गरे । सानोतिनो काम गरेर जीविकोपार्जन गर्ने सर्वसाधारणलाई अनावश्यक रूपमा भन्सार कार्यालयबाट दुःख दिने काम भएको उनको गुनासो छ ।