विजयपुर । धरान उपमहानगरमा जथाभावी फोहोरमैला फालेमा कारबाही गरिने भएको छ ।

मङ्गलबार कार्यपालिका बैठकले धरानको तीनकुनेदेखि छाताचोकसम्म जथाभावी फोहोर फालेमा कारबाही गर्ने निर्णय गरेको हो । बैठकले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ को परिच्छेद ७ मा भएको कसुुर अनुसार कारबाही गर्ने निर्णय गरेको हो ।

यस्तै राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्न पहल गने निर्णय पनि गरिएको छ । यातायात कार्यालय धरानमा ल्याउन पहल गर्ने निर्णय गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको जग्गा व्यवस्थापनका लागि धरान–१७ को जग्गामा स्थलगत अवलोकन गर्ने निर्णय भएको छ । जग्गा उपयुक्त भएमा व्यवस्थापन गरिने पनि निर्णय भएको छ ।

विद्यालयका शुल्कको अनुगमन गरिने भएको छ । अनुगमनका लागि धरानका नगर प्रमुख हर्कराज राईको संयोजकत्वमा ५ सदस्यीय समिति पनि बनेको छ ।

विद्यालयमा शुक्रबार जातीय पोसाकलाई प्रोत्साहन गर्ने निर्णय भएको छ । कार्यपालिकाको बैठकमा आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमको स्वीकृति असार २३ गते गरिने भएको छ । कार्यपालिका बैठकमा रहेका १९ वटा कार्यसूचीमध्ये १२ वटा निर्णय गरिएको छ ।