भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका जिल्लाकै पहिलो खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा भएको छ ।

जिल्लाका नौ वटा स्थानीय तह मध्ये पौवादुङमा खोप सुनिश्चता भएको पहिलो स्थानिय तह घोषणा भएको हो । १६ महिना देखि २३ महिना सम्मका शिसुुहरुलाई ११ प्रकारका खोप लगाईएकाले गाउँपालिकालाई खोप सुनिश्चितता स्थानीय तह घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गेहेन्द्र कुमार उपाध्यायले बताए ।

एक सय ४३ घरमा पुगेर वालबालिकाहरुको खोपको अवस्था बुझ्दा सबैले खोप लगाएको पाईएकाले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गरिएको उपाध्यायले जानकारी दिए । उनले भने, ‘ पौवादुङमा गाउँपालिका भोजपुर कै पहिलो खोप सुनिश्चितता भएको स्थानीय तह बनेको छ । तोकिएको मापदण्ड पुरा भएकाले खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गरेका हौँ । ’

गाउँपालिका अध्यक्ष किरण राईले खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गर्न मेहनतका साथ खट्ने सम्पूर्ण स्वास्थ्य कर्मी तथा कर्मचारीलाई धन्यवाद दिएका छन । अध्यक्ष राई भने, ‘ गाउँपालिकालाई पहिलो पूर्ण खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गर्न सफल भएका छौँ , यो हाम्रो लागि निकै ठुलो उलब्धी हो , नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको छ ।

उनले गाउपालिकाको नीति तथा कार्यक्रममा सुत्केरी तथा गर्भवती महिला र नवजात शिशुलाई जिल्ला बाहिरका अस्पतालमा लैजदा निःशुल्क एम्बुलेन्स सेवा दिने उल्लेख गरेको बताए । पौवादुङमा गाउँपालिका कार्य सम्पादन मुल्याङकनमा प्रदेशमा एकमा समेत पहिलो भएको गाउँपालिका हो ।