खोटाङ फुटबल एकेडेमीको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि नूरकाजी सैँजू चयन भएका छन् । एकेडेमीको शनिबार सम्पन्न प्रथम साधारणसभा तथा जिल्ला अधिवेशनबाट उहाँ दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा भएको प्रथम साधारणसभा तथा अधिवेशनले सैँजूको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । एकेडेमीको वरिष्ठ उपाध्यक्षमा भीम राई, उपाध्यक्षमा भीषण राई, कृष्णकुमार श्रेष्ठ, सुवास श्रेष्ठ, महासचिवमा शैलेन्द्र बजिमय, सचिवमा श्याम पौडेल र कोषाध्यक्षमा रोशेष श्रेष्ठ चयन भएका छन् । 

सदस्यहरूमा रसा प्रदान, सुचन राई, रोशन राई, अशोक केसी, रुपेश बजिमय र सन्तोष जोशी रहनुभएको छ । तीन जना सदस्यलाई भने जिल्ला कार्यसमितिको पहिलो बैठकले मनोनित गरेर ल्याउने जनाइएको छ ।

एकेडेमीको प्रथम साधारणसभा तथा अधिवेशन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले उद्घाटन गरहेका हुन् । जिल्ला फुटबल सङ्घका अध्यक्ष ध्रुवविक्रम राईको उपस्थितिमा भएको कार्यक्रममा जिल्लाका विभिन्न फुटबल क्लबका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति थियो । 

खेल क्षेत्रको समग्र विकासका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको एकेडेमीले जिल्लामा दक्ष खेलाडी उत्पादन गर्दै फुटबल खेललाई व्यावसायिक बनाउने उद्देश्यले नौदेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई तालिम दिँदै आएको छ । एकेडेमीले उत्पादन गरेको खेलाडीलाई छात्रवृत्तिमा थप अध्ययन तथा तालिमका लागि राजधानी काठमाडौँ पठाउने गरिएको छ । 

गत वर्ष सात जना खेलाडीलाई कक्षा ११ र १२ अध्ययन तथा तालिमको सम्पूर्ण खर्च सम्बन्धित क्याम्पसले व्यहोर्ने गरी काठमाडौँको नयाँ बानेश्वरस्थित प्रिमियर कलेजले लगेको छ । विगत तीन वर्षदेखि निरन्तर तालिम गराउँदै आएको एकेडेमीबाट गत वर्ष नै एन्फामा सात जना खेलाडी पठाइएको प्रशिक्षक रोशेष श्रेष्ठले बताए । 

यसअघि एकेडेमीमा तालिम लिएका याम्खाका एवन बस्नेत हाल नेपाल पुलिस क्लबबाट १८ वर्षमुनिका खेलाडी समूहमा आवद्ध छन् । जिल्लामा फुटबल खेलको व्यावसायिक विकासमा लागेको एकेडेमी जिल्ला लिगमा दोस्रो भएको थियो ।

एकेडेमीलाई गोल नेपाल र लिभरपुल फ्यान्स नेपालले खेल सामग्री उपलब्ध गराउँदै आएको छ । लिभरपुल फ्यान्स नेपालले गत यस वर्ष ३० जोर जर्सी, ३० वटा फुटबल, ट्रेनिङकोण, दुई थान नेटजाली र गोल नेपाल काठमाडौँले २० जोर जर्सी र १०  फुटबल उपलब्ध गराएको अध्यक्ष सैँजूले बताए ।

जिल्लामा फुटबल खेलप्रति बालबालिका आकर्षित भए पनि सम्बन्धित निकायले चासो नदिएको सरोकारवाला पक्षले आरोप लगाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा जिल्ला खेलकुद विकास समिति क्रियाशील रहे पनि फुटबल खेललाई चासो नदिएको खेलाडीको गुनासो छ ।