विराटनगर । स्वास्थ्य कार्यालय मोरङले बालबालिकाहरूको लागि कोभिड–१९ विरुद्धको  ‘फाइजर बायोएनटेक’ खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य कार्यालय मोरङले जहदा–१ जनता बाल आधारभूत विद्यालयमा आइतबार एक कार्यक्रम आयोजना गरी खोप कार्यक्रमको शुभराम्भ गरेको हो । प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले भ्याक्सिनको डिब्बा स्वास्थ्यकर्मीलाई दिएर  खोप कार्यक्रमको शुभराम्भ भएको थियो ।

पाँच वर्षभन्दा माथि र १२ वर्षभन्दा मुनिका बालबालिकाहरूको लागि ‘फाइजर बायोएनटेक’ खोप लगाउने कार्यक्रम मोरङमा सुरु भएको खोप शाखा प्रमुख कन्हैया साहले बताए ।

मोरङ जिल्लाभरिका १७ वटै स्थानीय तहहरूमा असार १२ देखि १७ गतेसम्म खोप लगाइन्छ । खोप शाखा प्रमुख साहले मोरङमा ५ वर्षभन्दा माथि र १२ वर्षभन्दा मुनिका १ लाख ४५ हजार बालबालिकाहरूलाई खोप लगाउने लक्ष्य लिएको बताए ।

७ सय जना स्वास्थ्यकर्मी र १ हजार ६ सय जना स्वयम्सेवीहरूले १७ वटै स्थानीय तहको खोपकेन्द्रमा पुगेर कोभिड–१९ विरुद्धको खोप बालबालिकाहरूलाई लगाउन सुरु गरेका छन् ।

खोप अभियानमा बोल्दै स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहताले बालबालिकाहरूलाई लगाइने खोप ९१ प्रतिशत प्रभावकारी रहेको बताए ।  ‘फाइजर बायोएनटेक खोप अमेरिकामा बनेको हो । यो धेरै सुरक्षित रहेको छ’ डा. मेहताले भने, ‘ढुक्क भएर खोप लगाउन बालबालिका र अभिभावकहरूलाई आग्रह गर्दछु ।’

जिल्लाको ७ सय ९६ वटा खोपकेन्द्रहरूबाट बालबालिकाहरूलाई खोप लगाइन्छ । खोपकेन्द्र स्थानीय तहमा रहेको विद्यालय, स्वास्थ्य संस्थाहरूमा खोप लगाइन्छ ।

कार्यक्रममा जहदा गाउँपालिका प्रमुख जितेन्द्रप्रसाद साह, उपाध्यक्ष हन्ना सोरेन, वडाध्यक्ष बाबुराम राजवंशी र जनता बाल आधारभूत विद्यालयका प्रधानध्यापक वीरेन्द्रप्रसाद मण्डलले खोप प्रभावकारी भएकोले ढुक्क भएर लगाउनु पर्ने बताए ।

khop-3