विराटनगर । १ नं. प्रदेश स्तरीय बास्केटबल र पौडी प्रतियोगिता हुने भएको छ । विराटनगरस्थित एभरेष्ट कलेजमा बास्केटबल र पौडी प्रतियोगिता हुने भएको हो ।

कलेज परिसरमा आइतबार पत्रकार सम्मेलन गरि असार १७ गते बास्केटबल र असार २४ गते पौडी प्रतियोगिता हुने जानकारी गराएको छ । बास्केटबलमा प्रदेशभरीका १२ वटा कलेजले भाग लिने विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालले जानकारी दिए । उनका अनुसार विराटनगरको एभरेष्ट, बिकेभिएम, डानबक्सको, सगरमाथा कलेजले भाग लिनेछन् यस्तै मोरङको सुुन्दरहरैचाको ब्राइट फियुचर, इटहरीको हिमशिखिर स्कुल, धरानको होलिल्याण्ड इन्टरनेशनल, चिल्डे«न एकाडेमी, नवज्योती स्कुलगायतले भाग लिनेछन् ।

बास्केटबलको बिजेताले नगद ५० हजार, उपबिजेताले ३० हजार र तेस्रो हुने टिमले नगद २० हजार रूपैयाँको साथै ट्रफि र मेडल प्राप्त गर्नेछन् । बास्केटबलको आयोजना विराटनगर बास्केटबल एकेडेमीले आयोजना गरेको हो । 

यसैगरि असार २४ गते हुने पौडि प्रतियोगितामा प्रदेशभरीका विद्यालयहरुले भाग लिनेछन् । मोरङ पौडी संघको प्राविधिक संयोजन  तथा एभरेष्ट कलेजको आयोजनामा प्रदेशस्तरीय पौडी प्रतियोगिता हुन लागेको प्रशिक्षक इन्द्रजीत राजभण्डारीले जानकारी दिए । पौडि प्रतियोगितामा विभिन्न तीन वटा इभेन्टमा प्रतियोगिता हुनेछ । १ सय, २ सय र तीन सय मिटरको हुनेछ । प्रत्येक तीन विद्यामा बिजेतामा हुने प्रतियोगिले १० हजार, द्धितीयले ७ हजार र तृतीयले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पौडी प्रतियोगितामा १ सय खेलाडीले भाग लिने आयोजकले जनाएको छ । प्रतियोगिताको मुख्य प्रयोजक एभरेष्ट कलेजले गरेको छ । 

बास्केटबल र पौडीमा बिजेता हुने विद्यार्थीहरूले एभरेष्ट कलेजमा पूर्ण छात्रवृत्ती पाउने कलेज प्रमुख टिकाराम पुरीले जानकारी दिए । एइइ दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गरि यो प्रतियोगिता आयोजना गरिएको छ । खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले बास्केटबल र पौडी प्रतियोगिता आयोजना गरिएको कलेज प्रमुख पुरीले बताए । ‘अहिले एसइइ दिएर बसेका विद्यार्थी खाली रहेका छन् । यही खाली रहेको समयको सदुपयोग र खेलकुद क्षेत्रको विकास गर्न यस्तो प्रतियोगिता आयोजना गरिएको हो,’ उनले भने । दुवै प्रतियोगिता एभरेष्ट कलेज परिसर भित्र हुनेछ । एभरेष्टमा राष्ट्रिय खेलकुद परिषदले तोकेको अनुसार स्वीमिङ पुल र बास्केटबल रहेको छ । दुवै प्रतियोगिता समापन गर्न करिब तीन लाख रुपैयाँ खर्च हुने आयोजकले अपेक्षा गरेको छ ।