विराटनगर ।  स्वास्थ्य कार्यालय मोरङले बालवालिकाहरूको लागि कोभिड १९ विरुद्धको  ‘फाइजर बायोएनटेक’ खोप लगाउने भएको छ । पाँच वर्षभन्दा माथि र १२ वर्षभन्दा मुनिका बालवालिकाहरूको लागि ‘फाइजर बायोएनटेक’ खोप लगाउने भएको हो । 

उक्त खोप मोरङ जिल्लाभरीको १७ वटै स्थानिय तहहरूमा यही असार १२ देखि १७ गतेसम्म लगाइने स्वास्थ्य कार्यालय मोरङका खोप शाखा प्रमुख कन्हैया साहले जानकारी दिए । उनका अनुसार मोरङमा ५ वर्षभन्दा माथि र १२ वर्षभन्दा मुनिका १ लाख ४५ हजार बालवालिकलाहरूलाई खोप लगाउने लक्ष्य लिएको छ । ७ सय जना स्वास्थ्यकर्मी र १ हजार ६ सय जना स्वयमसेवीहरूले १७ वटै स्थानिय तहको खोपकेन्द्रमा पुगेर कोभिड १९ विरुद्धको खोप बालवाकिलाहरुलाई लगाउनेछन् । ‘बालवाकिलाहरूलाई लगाइने यो खोप ९१ प्रतिशत प्रभावकारी रहेको छ,’ खोप शाखा प्रमुख साहले भने, ‘तेही भएर यो खोप बालवालिकाहरूलाई लगाउन प्रभावकारी देखिएको छ ।’ 

जिल्लाको ७ सय ९६ वटा खोपकेन्द्रहरूबाट बालवालिकाहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ । खोपकेन्द्र स्थानिय तहमा रहेको विद्यालय, स्वास्थ्य संस्थाहरूमा खोप लगाइने तयारी गरिएको छ । ‘पाँच वर्षमाथिका बालवालिकाहरू विद्यालय जाने भएकोले विद्यालयमानै खोपकेन्द्र राख्ने राष्ट्रिय नीति अनुसार तयारी गरिएको हो,’ खोप शाखा प्रमुख साहले भने, ‘यो खोप अभियानमा कोही पनि बालवाकिलाहरु खोपबाट बन्चित नहोस भनेर प्रचारप्रसारमा पनि जोड दिएका छौं ।’

मोरङमा कोभिड १९ विरूद्धको खोप १२ वर्षमाथि उमेरका ९० प्रतिशत नागरिकले खोप लगाएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । अहिलेसम्म ६ लाख ६७ हजार २ जनाले खोप लगाएको स्वास्थ्य कार्यालय मोरङको अभिलेखमा देखिन्छ ।