भरौल । आर्थिक वर्ष ०७९/८० का लागि वराहक्षेत्र नगरपालिकाले ९४ करोड २ लाख ४१ हजार ९ सय ३० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
नगरको दशांै नगरसभामा मङ्गलबार उप–प्रमुख नन्दकुमारी राईले वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिन् भने नगर प्रमुख रमेश कार्कीले नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरे । कृषि, पर्यटन र दिगो पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइएको नगर प्रमुख कार्कीले बताए । उनले नगरपालिकाको समस्या, चुनौती र अवसरहरूलाई अध्ययन गरेर नीति तथा कार्यक्रम बनाइएको बताए ।
नीति तथा कार्यक्रममा एक वडा एक खुल्ला क्षेत्र, बेरोजगार युवाका लागि मेयर रोजगार कार्यक्रम, उपमेयर सीप विकास तथा महिला सशक्तीकरण कार्यक्रम, रामधुनीदेखि चतरा, वराहक्षेत्र, सूर्यकुण्ड, धरानसम्मको धार्मिक सर्किट निर्माण, कोसी नदीमा पर्यटक आकर्षित गर्न जलविहारजस्ता कार्यक्रम समावेश छन् ।
त्यस्तै राजाबास पश्चिम कोसी किनारमा सूर्यास्तको मनोरम दृश्यावलोकनको लागि स्थान छनोट गरी प्रचार–प्रसार गरिने, कोसी किनारमा होटल, रेष्टुरेण्ट, फिसिङ, स्याण्ड भलिबल, स्याण्डबाथ प्रवद्र्धन, सूर्यकुण्ड तथा चियाबारी क्षेत्रमा सडक निर्माणजस्ता कार्यक्रम समेटिएका छन् ।
त्यसैगरी नगरको केन्द्रबाट सबै वडा जोड्ने सडकहरू र नगरका सबै भित्री सडकको स्तरोन्नति र कालोपत्रे गरिने, एक वडा एक गौरवका योजना, एक वडा एक खेलमैदान निर्माण गरिने योजना छन् ।
नगरपालिकाले यस वर्षका लागि सशर्त अनुदान (केन्द्र) ४१ करोड २७ लाख, वित्तीय समानीकरण अनुदान (केन्द्र) २१ करोड ४८ लाख, राजस्व बाँडफाँड (केन्द्र) १५ करोड ९४ लाख २३ हजार अनुमान गरेको छ भने वित्तीय समानीकरण (प्रदेश) तर्फ १ करोड २० लाख २० हजार, सशर्त अनुदान (प्रदेश) ६१ लाख २३ हजार, समपूरक अनुदान (प्रदेश) १ करोड, प्रदेश राजश्व बाँडफाँड ९१ लाख ७५ हजार ९ सय ३० रुपैयाँ, सञ्चित कोष मौज्दात (अ.ल्या.) २ करोड १० लाख अनुमान गरिएको जनाएको छ ।
चालु खर्च १२ करोड ९९ हजार, वडा कार्यालय (पुँजीगत) ११ करोड, पुँजीगत बजेट (नगरतर्फ) २७ करोड ४१ लाख २८ हजार ९ रुपैयाँ, सशर्त अनुदान (केन्द्र) ४१ करोड २७ लाख, सशर्त अनुदान (प्रदेश) ६१ लाख २३ हजार, समपूरक अनुदान (प्रदेश) १ करोड गरी कुल ९४ करोड २ लाख ४१ हजार ९ सय ३० हजार रहेको खर्चतर्फ रकम विनियोजन भएको जानकारी गराएको थियो ।
आर्थिक वर्ष ०७९/८० को लागि नगरपालिकाले आन्तरिक आय ९ करोड ५० लाख अनुमान गरेको छ । विषयगत रूपमा पूर्वाधार विकासमा १० करोड ८५ लाख ७२ हजार ९ सय ३० रुपैयाँ, आर्थिक विकासमा ५ करोड ४२ लाख ८५ हजार, सामाजिक विकासमा ६ करोड ७८ लाख ५७ हजार, विपद् तथा वन, वातावरणमा १ करोड ९० लाख, सुशासन तथा क्षमता विकास २ करोड १४ लाख २८ हजार, नगरस्तरीय चालु १२ करोड ९९ लाख ९० हजार, वडास्तरीय पुँजीगत ११ करोड बजेट विनियोजन गरेको छ ।

































