पथरी । मोरङ कानेपोखरी गाउँपालिकालाई नेपाल शिक्षक महासंघ कानेपोखरी गाउँ समितिले ६ बुँदे माग पत्र हस्तान्तरण गरेको छ ।

मंगलबार गाउँपालिकामा उपस्थित भई समितिका अध्यक्ष विजयगोपाल गड्तौलाले माग पत्र हस्तान्तरण गरेको हो । ६ बुँदे माग पत्र वाचन गरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

माग पत्रमा विद्यालयमा कार्यरत बाल शिक्षक, लेखापाल र कार्यालय सहयोगीलाई समानरुपले तलब दिनुपर्ने माग राखेको छ । अहिले बाल शिक्षकको र कार्यालय सहयोगीको १५ हजार र लेखापाल सहयोगीको १७ हजार स्थानीय र संघीय सरकारले दिँदै आएको छ । 

समितिको माग पत्रमा गाउँ शिक्षा समितिको बैठकमा नेपाल शिक्षक महासंघका अध्यक्ष, व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयको प्रअलाई पनि सहभागी गराउनुपर्ने माग रहेको छ । माग पत्र पत्रमा अवकाश हुने विद्यालय कर्मचारी र बाल शिक्षकको लागि एकमुष्ट सुविधा व्यवस्था गरिनु पर्ने, विद्यालयको प्रअ र लेखा कर्मचारीलाई लेखा तालिमको व्यवस्था गर्नुपर्ने, कर्मचारी र बाल शिक्षकको लागि स्थानीय तहबाट निकासा हुने पारिश्रमिकमा संघीय सरकारको निर्णय अनुसार १५ प्रतिशत पारिश्रमिक थप गरिनुपर्ने र महंगी भत्ताको व्यवस्था गर्नुपर्ने र प्रअ अवलोकन भ्रमण जस्तै शिक्षकहरूका लागि पनि अवलोकन भ्रमणको व्यवस्था गर्नुपर्ने माग राखेको छ । 

माग पत्र बुझ्दै पालिका अध्यक्ष इङ्नामले माग पत्रको अध्ययन, अनुगमन गर्दै आवश्यकता अनुसार माग पुरा गर्ने बताएकी थिइन् । हस्तान्तरण कार्यक्रममा संघको अध्यक्ष जङ्गबहादुर बोहरा, शिक्षक सङ्गठनको अध्यक्ष सञ्जीव खड्का, कर्मचारी परिषद्को अध्यक्ष जितमाया भुजेल, एकीकृत अखिल नेपाल शिक्षक संगठन सचिव एकराज फुयल, जिल्ला महासंघका अध्यक्ष दामोदर सिग्देल लगायत उपस्थित रहेका थिए ।