यासोक । पाँचथरको कुम्मायक गाउँपालिकामा विद्युत् अवरुद्ध हुँदा खानेपानीको हाहाकार मच्चिएको छ । पाँच दिनदेखि तमोर लिफ्ट खानेपानी सञ्चालनमा प्रयोग गरिएको ११ केभिएको विद्युत् सेवा अवरुद्ध हुँदा खानेपानीको हाहाकार भएको हो । खानेपानीको समस्याका कारण १५ सय घरधुरी प्रत्यक्ष मारमा परेका छन् । विद्युत्कै कारण योजनामा प्रयोग गरिएको पम्प सञ्चालन गर्न नसक्दा खानेपानी योजना अवरुद्ध भएको हो ।

खानेपानीकै अभावका कारण गाउँपालिका केन्द्रको यासोक बजारका होटल व्यवसायीहरू पनि प्रत्यक्ष मारमा परेका छन् । व्यवसाय सञ्चालन गर्न समस्या भएपछि तत्कालको लागि व्यवसायीले खानेपानी सङ्कट टार्न ट्याक्टरबाट पानी ढुवानी गर्दै आएको स्थानीय होटल व्यवसायी देवेन्द्र सम्बाहाम्फेले बताए ।

निरन्तरको वर्षाका कारण गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको फिदिम विद्युत् सहकारी संस्था यासोक युनिटका प्रमुख खेमराज निरौलाले बताए । जिल्लाको फाल्गुनन्द गाउँपालिका र फिदिम नगरपालिकाका अधिकांश बस्तीमा समस्या देखा पर्दा विद्युत् अवरुद्ध हुने गरेको निरौलाको भनाइ छ । कतिपय ग्रामीण विद्युत् सहकारी संस्थाहरूले अवरुद्ध भएको विद्युत् मर्मत सुधार नगर्दा पनि समस्या हुने गरेको कार्यालयले जनाएको छ ।

यता गाउँपालिकाले वैकल्पिक व्यवस्थापनमा ध्यान दिने बताएको छ । गाउँपालिका अध्यक्ष बमप्रसाद लावतीले स्थानीय साधन र स्रोतको संरक्षण गर्दै तमोर लिफ्ट खानेपानी योजनालाई दीर्घकालीन रूप दिने दाबी गरे । उनले अवरुद्ध भएको विद्युत्लाई चाँडै मर्मत सुधार गरी खानेपानी सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।