विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा कम्प्युटर प्रणाली जडान भएपछि बिरामीलाई पहिलो पटक ल्याव (प्रयोगशाला)को रिपोर्ट कम्प्युटरबाटै दिन थालिएको छ ।

उपचार तथा स्वास्थ्य परीक्षणका लागि आउने बिरामीलाई कम्प्युटरबाटै ल्यावको रिपोर्ट दिने प्रणालीको विकास गरेको हो । अनलाइनमार्फत् ल्यावको रिपोर्ट कम्प्युटरबाट प्रिन्ट गरेर दिन थालेपछि सहज भएको अस्पतालकी प्रयोगशाला प्रमुख एवम् कन्सल्टेन्ट प्याथोलोजिष्ट डा. प्रतीक्षा कार्कीले बताइन् । उनका अनुसार यसअघि हातले लेखेर रिपोर्ट दिनुपर्ने अवस्था थियो ।

हातले लेखेर परीक्षण फारम भनुपर्ने, हास्तलिखित रिपोर्टमा अक्षर नबुझ्ने, काममा ढिलो हुने, परीक्षणका लागि सङ्कलन गरिएका नमुना हेरफेर हुने, रिपोर्ट वितरणका लागि छुट्टै कर्मचारी खटाउनुपर्ने, रिपोर्ट हराउने, एउटा बिरामीको रिपोर्ट अर्कोलाई पर्नेलगायतका समस्या यसअघि थिए ।

रिपोर्टलाई कम्प्युटर प्रणालीमा लगेपछि सबै समस्याबाट मुक्ति मिलेको डा. कार्कीको भनाइ छ । अहिले हातले फाराम भर्नु नपर्ने र बिरामीको नामको बारकोट नम्बरलाई राख्नेबित्तिकै कम्प्युटरबाट प्रिन्ट रिपोर्ट प्राप्त गर्न सकिने जानकारी उनले दिइन् । सुरुमा बिरामीको नामको बारकोड स्टिकर कम्प्युटरबाट निकालेर टिकटमा राख्ने गरिएको छ । त्यसपछि कम्प्युटरबाट प्रिन्ट गरेर रिपोर्ट बिरामीलाई दिइन्छ ।

‘ल्यावमा रहेका अनेक कमजोरीलाई कम गर्न कम्प्युटर प्रणालीमार्फत् बिरामीलाई रिपोर्ट उपलब्ध गराउन थालिएको हो’ उनले भनिन्, ‘कम्प्युटरबाट रिपोर्ट निकालिने भएकाले बिरामीले प्राप्त गर्ने रिपोर्टमा अहिले कुनै पनि समस्या छैन ।’ कम्प्युटरबाट काम हुन थालेपछि बिरामीले सहज रूपमा रिपोर्ट प्राप्त गर्ने अवस्था बनेको डा. कार्कीको भनाइ छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलका अनुसार बिरामीको भीडभाड अत्यधिक हुने हुँदा यसअघि फारम भर्नकै लागि ६ जनासम्म जनशक्ति खटाउनुपर्ने अवस्था थियो ।

‘अस्पतालमा ल्यावको फारम हातैले भर्नुपर्ने समस्या पुरानै हो । रिपोर्ट पनि हातले लेखेर नै बिरामीलाई दिइन्थ्यो’ उनले भने, ‘फारम भर्नकै लागि मात्रै धेरै जनशक्ति खपत हुन्थ्यो । जनशक्ति अपर्याप्त हुँदा आकस्मिक अवस्थाका बिरामीलाई तत्काल रिपोर्ट उपलब्ध गराउन सकिँदैनथ्यो ।’

कम्प्युटरबाट काम हुन थालेपछि ल्यावको चुहावट नियन्त्रणमा सहयोग पुग्नुका साथै जनशक्ति पनि कम खपत हुन थालेको मेसु खरेलले बताए । उनले सरकारी अस्पतालमै अत्याधुनिक मेसिन एवम् उपकरणबाट धेरै खालका ल्याव परीक्षणको सुविधा उपलब्ध रहेको र सेवालाई थप विस्तार गर्ने योजना बनाइएको पनि बताए ।

प्रदेश १ कै सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था कोसी अस्पतालको प्रयोगशालामा दिसा, पिसाबसहित रगतसम्बन्धी सबै खालका परीक्षण हुने गरेको छ । उनका अनुसार हेमोग्लोबिन, मधुमेह, मिर्गौलासहित एचआईभी, हेपाटाइटिस, मलेरिया, कालाजारलगायतका विभिन्न सङ्क्रामक रोगको परीक्षण कोसी अस्पतालबाट हुन्छ ।

त्यसबाहेक हिस्टोप्याथोलोजी, साइटोप्याथोलोजी, वायोप्सी, हेपाटाइटिस ‘बी’ र ‘सी’समेतका स्पेशल परीक्षण पनि हुने उनको भनाइ छ । डा. खरेलले बोनम्यारोलगायत हड्डीसँग सम्बन्धित जाँच र महिलाको पाठेघरको मुखमा क्यान्सर गराउने जीवाणु एवम् भाइरसको डिएनए परीक्षणसमेत कोसी अस्पतालबाटै हुने बताए । कोसीमा दैनिक ६ देखि ७ सय जनासम्म बिरामीको ल्याव परीक्षण हुने गरेको छ । एउटै बिरामीको धेरै खालका जाँच गर्नुपर्ने हुँदा परीक्षण भने तीन हजारभन्दा बढी हुने गरेको अस्पतालले जनाएको छ ।