विजयपुर/विद्यार्थीको बिमाबापतको रकमका विषयमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन महेन्द्र इकाई समितिले स्पष्टीकरण माग गरेको छ ।

सोमबार इकाई अध्यक्ष शेखर रेग्मीले विज्ञप्ति जारी गर्दै ४ बुँदे स्पष्टीकरण माग गरेका छन् । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको बिमाबापत ५ सय रुपैयाँका दरले लिने शुल्क स्वास्थ्य संस्थासँगको सम्झौता रद्द भएसँगै शुल्कका विषयमा विश्वविद्यालयसँग प्रश्न उठाएको हो । त्रिवि प्रशासनले नजिकैको सरकारी अस्पताल वा स्वास्थ्य संस्थासँग समन्वय गरी विद्यार्थीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने भन्ने उल्लेख छ । ५ सय रुपैयाँका दरले ५७ लाख ८९ हजार रुपैयाँ रकम के हुने भन्दै विज्ञप्तिमार्फत् स्पष्टीकरण सोधिएको छ ।

विज्ञप्तिमा स्वास्थ्य बिमा कार्यक्रम लागू हुने वा नहुने स्पष्ट निर्णय दिनुपर्ने, बिमा लागू नहुने भए शुल्क बुझाएका तर क्याम्पसको पढाइ पूरा गरेका विद्यार्थीको हकमा के कस्तो व्यवस्था हुने; पारिवारिक स्वास्थ्य बिमा गरिसकेका विद्यार्थीहरूको पनि बिमा शुल्क लिएको जानकारीमा आएको हुँदा यस्तो त्रुटिको प्रशासनले जवाफ दिनुपर्ने र तत्काल अध्ययनरत विद्यार्थीको हकमा शुल्कलाई समायोजनका विषयमा जानकारी दिनुपर्ने माग गरेको छ ।