विराटनगर । प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईले आफ्नो कार्यकालमा प्रदेशको नाम टुङ्गो लगाउन नसक्दा अपसोच लागेको बताएका छन् ।

विराटनगरमा बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एमाले)का नेता राईले आफ्नो कार्यकालमा प्रदेशको नाम टुङ्गो लगाउन नसक्दा अपसोच रहेको बताएका हुन् । उनले यही अधिवेशनबाट प्रदेशले नाम पाउने बताए ।

प्रदेशको नामकरणको विषयमा केही दिनमा निष्कर्षमा पुग्ने बताउँदै उनले नेकपा (एमाले)भित्र केही समस्या नरहेको उनको भनाइ छ । ‘एकपटक पार्टीभित्र छलफल गरेर धारणा तयार गर्ने र नेपाली काङ्ग्रेसलगायतका दलसँग संवाद चलिरहेको छ’ उनले भने, ‘केही दिनभित्रमा साझा धारणा तयार हुनेछ ।’ प्रदेश १ को पहिलो मुख्यमन्त्रीसमेत रहेका शेरधन राईकै पालामा प्रदेश राजधानीको टुङ्गो लागेको थियो ।

त्यसपछि भीम आचार्य, राजेन्द्र राई मुख्यमन्त्री बने पनि प्रदेश १ को नामकरण भइसकेको छैन । अन्य ६ प्रदेशको नाम तय भइसक्दा पनि नम्बरका आधारमा पहिलो प्रदेश भए पनि नामकरण हुन नसक्नु दुःखद् रहेको उनको भनाइ थियो । आफ्नो कार्यकालमा पार्टीभित्रको आन्तरिक समस्याले नाम टुङ्गो लगाउन नसकेकोमा आफूलाई पछुतो लागेको बताउँदै उनले अब एमालेकै नेतृत्वमा नाम टुङ्गो लाग्नेसमेत बताए ।

उनले नेपाली काङ्ग्रेसले साथ दिएमा यही कार्यकालमा प्रदेशले नाम पाउने बताए । आफ्नो पालामा पार्टीहरू एकमत नभएका कारण नाम दिन नसकेको उल्लेख गर्दै काङ्ग्रेस–एमाले एकमत भए प्रदेश १ ले आधा घण्टामै नाम पाउने बताए । काङ्ग्रेस र एमाले प्रदेशमा मिल्दा दुईतिहाइ नपुग्ने २–३ जनाको सङ्ख्या एमालेले नै खोजेर पु¥याउने राईको दाबी छ । बाँकी प्रदेशको अवधिभित्रै नाम टुङ्ग्याउने गरी एमालेले पहल थालेको उनको भनाइ छ ।

नामको सम्बन्धमा दलहरूबीच छलफल सुरु भएको र यसले चाँडै नै निकास पाउनेमा आशावादी रहेको राईले बताए । नेकपा (एमाले)का स्थायी कमिटी सदस्यसमेत रहेका उनले प्रदेश सरकारले ल्याएको बजेट चुनावलाई आधार बनाएर ल्याएको टिप्पणी गरे ।

प्रदेश सरकारले साना–साना योजनामा बजेट छरेको आरोप लगाउँदै उनले बहुवर्षीय योजनामा पूरा बजेट नराखेर कार्यकर्ता पोस्ने खालका योजना ल्याएको बताए । जस्तो सरकार उस्तै बजेट आएको उनको भनाइ थियो । उनले गन्तव्यविहीन सरकारले आफूजस्तै बजेट ल्याएको बताउँदै उनले प्रदेश गौरवका सडक निर्माण जस्तो विषय बजेटमा आउनुपर्ने भए पनि नआएको बताए ।

बजेट प्राथमिकतामा नआएको र मान्छेलाई अलमल्याउनुबाहेक सम्भव नभएको बताउँदै उनले यो बजेट चुनावलाई ध्यानमा राखेर जनतालाई अलमल्याउने र कार्यकर्ता पोस्ने बजेट आएको टिपणी गरे ।

एक फरक प्रसङ्गमा साना दलहरू मौका आउने बित्तिकै सरकार परिवर्तन गर्ने आरोप लगाउँदै उनले दुई ठूला पार्टी अस्थिरता अन्त्यका लागि सिस्टममा जानुपर्ने बताए । स्थानीय तह निर्वाचनले पनि सोही सङ्केत गरेको उनको जिकिर थियो । उनले गठबन्धनको नाममा लोकत्रान्त्रिक मूल्य र मान्यताको खिल्ली उडाएको बताए ।