धनकुटा ।  सहिद भूमि गाउँपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित जन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सहिद भूमिको पिप्ले बजारमा मंगलवार सम्पन्न भएको छ ।

नेपाल शिक्षक संघ सहिद भूमि गाउँ कार्यसमितिको आयोजनामा बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि १ नं प्रदेश शिक्षक संघका अर्थ महासचिव राम कुमारी भण्डारीले गठबन्धनको तर्फबाट विजयी हुनु हुनेहरूलाई बधाई दिए । उनले जनसेवाको रूपमा काम गरी नयाँ र फरकपन प्रदान गरेर काम गरी कार्यकाल सफल बनाउन समेत शुभकामना व्यक्त गरे । 

नेपाली काँग्रेस सहिद भूमिका सभापति टंक राईले संयुक्त लोकतान्त्रिक गठबन्धन भनेको ओली प्रकृतिको विरुद्धमा देशैभरि एक खाले गठबन्धन भएको बताए । त्यसैको परिणाम स्वरूप सहिद भूमिमा समेत काँग्रेसले समेत विजयी हासिल गरेको कुरा बताउँदै विजेता साथीहरूलाई बधाई तथा शुभकामना ज्ञापन गरे । सहिद भूमि गाउँपालिका नेकपा एमालेको लाल किल्ला नभई डन किल्ला भएको नेपाल तरुण दलका जिल्ला सचिव नरेन्द्र राईले बताए । उनले डन किल्ला भत्काउन सफल हुनु हुने संयुक्त लोकतान्त्रिक गठबन्धनका तर्फबाट वडा अध्यक्ष र सदस्यज्यूहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सो अवसरमा सहभागीहरूले सहिद भूमि गाउँपालिकालाई समुन्नत वडा र गाउँपालिका निर्माणको लागि संयुक्त गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष, वडा सदस्यहरूबाट जन केन्द्रित कार्यक्रमहरू लिएर काम गर्न आग्रह गरिएको छ । त्यसै गरी नेपाली काँग्रेस पार्टीलाई उच्च स्थान प्रदान गर्न राम्रोसँग काम गर्न पर्ने दिन आएको नेपाली काँग्रेस जिल्ला सदस्य तोर्ण बहादुर खड्का, योगेन्द्र राई, लगायतकाले बताएका छन् ।

कार्यक्रममा सहिद भूमि गाउँ कार्यसमितिका सचिव दिपेन्द्र राई,वडा नं १ का सभापति भीमनाथ खड्का,वडा नं २ का सभापति दुर्गा विष्ट,वडा नं ३ का सभापति रत्न राई वडा नं ४ का सभापति सन्तोष राई लगायतको उपस्थिति रहेको थियो । 

नेपाल शिक्षक संघ सहिद भूमि गाउँ कार्यसमितिका अध्यक्ष लोकेन्द्र तेले राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शोभा राईले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ सहिद भूमि गाउँ कार्यसमितिका सचिव प्रेम कुमारी राईले गरेका थिए ।