धरान । विराटनगरको मोतीराम स्पोर्टिङ क्लबले प्रदेश एक जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ । 

सुनसरीको इटहरी रंगशालामा बुधबार सम्पन्न फाइनलमा धनकुटाको देउराली फुटबल क्लबलाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । उपाधिसँगै नगद २ लाख रुपैयाँ जितेको छ । यता देउरालीले नगद १ लाख रुपैयाँमा चित्त बुझाएको छ । 

जितका लागि मोतीरामका दिवाकर चौधरी र उमेश कार्कीले एक–एक गोल गरे । यता सान्तवना गोल देउरालीका तर्फबाट सञ्जय रम्तेलले गरे । प्रतियोगितामा मोतीरामका उमेश कार्की उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ हजार १ सय रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा मोतीरामका शुशील राई फाइनल खेलको म्यान अफ दी म्याच, किशोर गिरी उत्कृष्ट गोलकिपर र पारस चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए ।

देउरालीका पदम भट्टराई उत्कृष्ट डिफेन्स, मनकुमार रार्ई उत्कृष्ट मिडफिल्डर, वीरेन लिम्बू उत्कृष्ट फरवार्ड र सञ्जय रम्तेल सर्वाधिक गोलकर्ता घोषित हुँदै जनही ३ हजार ५ सय रुपैयाँ पाए । प्रतियोगिता समापनपश्चात् गायिका ज्योति मगरले सांगीतिक प्रस्तुति दिएकी थिइन् ।

विजेता तथा उपविजेता टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टङ्कलाल घिसिङ, प्रदेश एक खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्ले, सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक राईलगायतले पुरस्कार वितरण गरे । प्रतियोगिता गत जेठ २६ गतेदेखि सुरु भएको थियो । जहाँ ११ वटा जिल्ला च्याम्पियन टिमबीच प्रतिस्पर्धा भएको थियो ।