धरान । अन्तरनगरपालिकास्तरीय सहिद रामकृष्ण श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाको टिमले जितेको छ ।

धनकुटामा शनिबारदेखि जारी प्रतियोगितामा धनकुटाको टिमले चौबिसे गाउँपालिकाको टिमलाई ३–० गोलले हराउँदै उपाधि जितेको हो । उपाधि रक्षा गरेको धनकुटाले नगद ५० हजार रुपैयाँसहित ट्रफी पाएको छ । उपविजेता बनेको चौबिसेले नगद ३० हजार रुपैयाँसहित ट्रफी पायो ।

खेलको वुमन अफ दी म्याच धनकुटाकी अनिता लम्जेल घोषित भइन् । सर्वोत्कृष्ट खेलाडी धनकुटाकी तीर्था लिम्बू घोषित भइन् । प्रतियोगितामा धनकुटाका सातवटै स्थानीय तहको टिम सहभागी बनेको थियो ।