विराटनगर । जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानलै निर्वाचित भएको छ ।

जिसस मोरङको मङ्गलबार भएको निर्वाचनमा एमालेको प्यानलै निर्वाचित भएको हो । मोरङमा एमालेको बहुमत रहेको छ । जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा (एमाले)का अजम्बर राई र उपप्रमुखमा उषा झा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए ।

एमालेका प्रमुखका उम्मेदवार राईले २१ मत ल्याएर निर्वाचित रहँदा नेपाली काङ्ग्रेसबाट प्रमुखका उम्मेदवार जितेन्द्र अग्रवालले १३ मत मात्र प्राप्त गरे । उपप्रमुखमा एमालेकी उषा झाले २१ मत ल्याएर निर्वाचित हुँदा काङ्ग्रेसकी निलमकुमारी सरदारले १३ मत पाइन् ।

महिला सदस्यहरूमा पनि एमालेका उम्मेदवार उमा नेपालीले २३, उर्वशीकुमारी थारूले २१ र हरिमाया विश्वकर्माले २१ मत ल्याएर विजयी भए । अन्य सदस्यमा तुलसीप्रसाद घिमिरेले २२, देवमणि कटुवाल २१ र मित्रप्रसाद ढकालले २२ मत ल्याएर विजयी भएका छन्  ।

नेपाली काङ्ग्रेसले जिसस सदस्यमा फ्लोर क्रस गरेका छन् । एमालेको २१ मत मात्र रहेको मोरङमा खुला सदस्य घिमिरे र ढकालले समान २२ मत पाए भने र महिला सदस्य उपमा नेपालीले २३ मत पाइन् । जिससको प्रमुख, उपप्रमुख र सदस्यहरूलाई स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षले मतदान गर्दछन् ।

मोरङ जिल्लामा १७ स्थानीय तह छन् । यहाँ जिसस गठनका लागि कम्तीमा १८ मत आवश्यक पर्ने थियो । यहाँ पनि एमालेले एकल रूपमा जिसस गठन गर्न सक्छ । एमालेको यहाँका ९ पालिकामा प्रमुख र १२ मा उपप्रमुखसहित २१ मत छ । गठबन्धनसँग १३ मत छ । यहाँ काङ्ग्रेसले ८ प्रमुख र ४ उपप्रमुख तथा माओवादीले १ उपप्रमुखमा जित हात पारेको छ ।