भोजपुर। नेकपा माओवादी केन्द्र भोजपुरले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ । पार्टीका साथै गठबन्धन दलका साझा उम्मेदवारहरूलाई असहयोग गरी घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने जिल्ला कमिटीको विस्तारित बैठकमा निर्णय भएको हो ।

बैठकले अनुशासन कारबाहीको सिफारिस गर्न जिल्ला स्तरीय ३ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा जिल्ला सह इन्चार्ज कमरेड विमल खड्का , प्रदेश सदस्य कमरेड अशोक राई र जिल्ला समन्वय सदस्य कमरेड प्रमिला राई रहेका छन् ।

समितिले गहिरो अध्ययन तथा छानबिन गरी अन्तर्घात गर्नेलाई अनुशासन कारबाहीको सिफारिस गर्ने जिल्ला सचिव बलभद्र राईले बताए । अन्तर्घात गर्ने विरुद्ध उजुरी दिन असार मसान्त सम्मको समय तोकिएको सचिव राईले जानकारी दिए ।

यस्तै पालिका चुनावमा माओवादीबाट निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरूलाई मार्ग निर्देशन तथा प्रशिक्षण दिइएको छ । बैठकले जिल्लाका सम्पूर्ण मतदाताहरूलाई धन्यावाद ज्ञापन गर्दै माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेको माओवादी केन्द्र भोजपुरले जनाएको छ ।