भोजपुर । नेपाली काँग्रेस भोजपुरले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित जन प्रतिनिधिहरूलाई प्रशिक्षण दिने भएको छ । काँग्रेसले असार ३ गते काँग्रेसबाट निर्वाचित जन प्रतिनिधिहरूलाई प्रशिक्षण दिने भएको हो ।

कार्यक्रममा पार्टीको स्थानीय सरकारसँगको सम्बन्ध , स्थानीय सरकारको बजेट तर्जुमा र जनप्रतिनिधि र जनताको सम्बन्ध लगायत विषयमा प्रशिक्षण दिइने जिल्ला सभापति विनोद बान्तावाले बताए । प्रशिक्षण कार्यक्रममा काँग्रेसबाट निर्वाचित ६ जना पालिका प्रमुख उपप्रमुख , २८ जना वडाध्यक्ष र सदस्यहरूको सहभागिता रहने जिल्ला सचिव सफल किरातले जानकारी दिए ।

यस्तै सोही कार्यक्रममा जिल्लाका क्रियाशील कार्यकर्तालाई पनि प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पार्टीलाई सैद्धान्तिक रूपमा बलियो बनाउन क्रियाशील कार्यकर्तालाई प्रशिक्षण दिन लागिएको सचिव किरातको भनाई छ ।

उनीहरूलाई प्रदेश र प्रतिनिधिसभाको चुनावमा काँग्रेसलाई कसरी ठुलो दल बनाउने भन्ने विषयमा पनि प्रशिक्षण दिइनेछ । प्रशिक्षण नेपाली काँग्रेस केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले दिने कार्यक्रम तय भएको छ । प्रशिक्षण सकिए पछि असार ४ गते जिल्ला कार्य समितिको बैठक समेत बस्ने काँग्रेस भोजपुरले जनाएको छ ।