देउराली ।  धरान उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठकलाई लिएर तातिएको सामाजिक सञ्जाल अझै सेलाएको छैन ।  खोला ठेक्का लाउने कि नलाउने भन्ने विषयमा कार्यपालिका बैठकमा भएको चर्काचर्कीले कार्यपालिकाको दोस्रो बैठकलाई प्रभावित पार्याे । बिहीबार दिउसो २ बजे बस्ने भनिएको बैठक, बैठक अगाडि नै नगरप्रमुख साम्पाङकाे समर्थन गर्दै वडाध्यक्षहरूकाे चर्को विरोध गर्दै नगरपालिकाको गेटमा आएर एक समूहले प्रदर्शन गर्याे ।

वडाध्यक्षहरू प्रति लक्षित प्ले कार्ड बोकेर नगरपालिकाको गेटमा प्रदर्शन गरिरहेको देखेपछि कार्यपालिका बैठककालागि आएका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरू फर्किए । वडाध्यक्ष प्रति लक्षित उक्त प्रदर्शन नगर प्रमुखको निर्देशनमा भएको उनीहरूको बुझाइ छ ।

पूर्व निर्धारित कार्यपालिका बैठक हुन नसकेपछि नगरप्रमुख साम्पाङले  "धराने जनता नगरपालिका आएर सर्दु सेउती बेच्नु हुन्न भन्दा बैठक बहिष्कार गर्नेहरूलाई हार्दिक धन्यवाद "  भन्दै फेसबुकमा पोस्ट गरे ।

कार्यपालिकाको बिहीबार हुन नसकेको बैठक आइतबारका लागि सारिएको छ ।  तर शुक्रवार पनि एक समुहले उपमहानगरपालिकाको गेट अगाडी धर्ना दिएका छन् सचेत धराने समूहको ब्यानरमा रहेको उक्त समूहले विकासमा सबैले मिलेर गर्न आग्रह गर्दै सर्दु जलाधार संरक्षण गर्न, खोला दोहन बन्द गर्न, सद्भाव कायम राख्नलगायत प्ले कार्ड पनि बोकेका थिए । उनिहरूले कार्यपालिका बैठक बिहीबार स्थगित भएकोमा पनि प्रश्न उठाएका थिए । उक्त समूहमा पनि  अधिकांश गत निर्वाचनमा नगरप्रमुख हर्क साम्पाङलाई समर्थन गर्ने युवा रहेका थिए । 

यति बेला सामाजिक सञ्जालमा नगरप्रमुख साम्पाङ एक तर्फ र अन्य कार्यपालिका सदस्यहरू अर्को तर्फ रहेको चित्रण गरिएका विभिन्न पोस्टहरू सामाजिक सञ्चालनमा आइरहेका छन्। 

काेशीबाट पानी ल्याएरै छाड्छु भन्ने अठोट लिएका नगर प्रमुख साम्पाङ खोलाको दोहन गर्न रोक्ने र अन्य कार्यपालिका सदस्यहरू दोहन गर्नु चाहने आशयका कार्टुन तथा स्ट्याटस बढ्दै जाँदा धरान ५ नेकपा एमालेका इन्चार्ज  चन्द्र भुजेलले भने अवैध खोला उत्खनन  रोक्ने एमाले धरान ५ को चुनावी एजेन्डा नै रहेको बताएका छन् । 

उनले शुक्रवार सामाजिक सञ्जालमा फेसबुकमा एक स्ट्याटस  राख्दै भनेका छन् " प्राकृतिक सम्पदा संरक्षण कार्यमा विवाद हुनु धरानको लागि दुर्भाग्य।तुलनात्मक रूपमा धरान उपमहानगर पालिका भरिमा ५ नम्बर वडामा  ५ वटा खोलाहरू छन् । धेरैको नजर यस तर्फ रहनु स्वाभाविक हो। धरान ५ मा नेकपा एमालेले चुनावी योजना बनायो, जनतासंग मत माग्यो र विजय हासिल गर्‍यो।अन्य कसैको एजेन्डासंग मेल खानु भनेको संयोग मात्र हो। जन प्रतिनिधि पदस्थापन  पश्चात् प्रथम बैठकले प्राकृतिक सम्पदाको संरक्षण गर्ने, नदिजन्य पदार्थ अवैध रूपमा उत्खनन बन्द गर्ने र वडावासीलाई सुशासनयुक्त सेवा प्रदान गर्ने निर्णय भैसकेको छ। नगरपालिकाले नदि उत्खनन गर्ने निर्णय गरे पनि यस वडा जनताको भावना  विपरीत काम गर्न बाध्य हुनेछैन। हामी ढुक्छौ। "

भुजेलले ५ नम्बर वडामा अवैध रूपमा बडासँग समन्वयन नगरी नगरले उत्खनन गरे पनि त्यसको विरोध गर्ने बताएका छन् । उनले भने " ५ नम्बर वडामा खोलाको विषय संवेदनशील छ । हाम्रो चुनावी एजेन्डा पनि खोला उत्खनन हुनु हुँदैन भन्ने नै थियो । पदभार ग्रहण गर्दाको पहिलो निर्णय पनि अवैध उत्खननलाई रोक्ने र प्राकृतिक सम्पदाको संरक्षण गर्ने भनेका छौँ ।  " उनले विगतमा नगरले उत्खनन गर्दा विराध गरेको स्मरण गर्दै भविष्यमा पनि उत्खनन भए विरोध हुने बताए ।

कार्यपालिकाको पहिलो बैठकमा ५ नम्बर वडाका वडाध्यक्ष मन प्रसाद लिम्बुले अवैध खोला उत्खनन गर्न नहुने र उत्खनन गर्नै परे अधेरी तथा सेउत खोलामा रहेको तल्लो पुल भन्दा माथि उत्खनन गर्न नहुने धारणा राखेका थिए ।