विराटनगर । प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि बिहीबारदेखि प्रदेशसभाको बैठकमा छलफल थालिएको छ ।

छलफलको पहिलो दिन सहभागी सत्तापक्षका सांसद्हरूले नीति तथा कार्यक्रम एकदमै राम्रो रहेको भन्दै कार्यान्वयनमा जोड दिएका छन् भने विपक्षी प्रदेश सभा सदस्यहरूले कडा आलोचना गरेका छन् ।

सांसद्हरूले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम सुन्दा राम्रो रहे पनि कार्यान्वयन जहिल्यै पनि फितलो हुने बताए । फितलो नीति तथा कार्यक्रम हुँदा प्रदेशले विकासमा फड्को मार्न नसकेको उनीहरूले गुनासो गरे ।

विपक्षी दलका सांसद्हरूले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम झूटको पुलिन्दा रहेको आक्षेपसमेत लगाएका छन् । प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि गतवर्षमा भएका त्रुटी र कमीकमजोरीलाई समेटेर नीति तथा कार्यक्रम ल्याउनुपर्ने भए पनि विपद्जन्यलगायतका प्राकृतिक प्रकोप र समग्र बजेटमा जनचाहनाअनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए ।

नेकपा (एमाले) संसदीय दलका नेता भीम आचार्यले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी खालको भएको टिप्पणी गरेका छन् । ‘अहिलेको सरकारले ल्याएको यो नीति तथा कार्यक्रम अन्तिम हो । त्यसैले भएभरका सबै कुरा यहाँ समावेश गरिएको छ’ उनले भने, ‘नीति तथा कार्यक्रममा समावेश गरिएको विषयवस्तु हेर्दा आकाश, पाताल सबै मेरै भन्ने खालको छ । तर, त्यहाँ हेर्दा केही देखिँदैन ।’

नीति तथा कार्यक्रममा ठोस कार्यक्रम कुनै पनि नभएको उनको भनाइ छ । ‘आगामी आर्थिक वर्षमा सकिने कुनै कार्यक्रम छैन’ उनले भने, ‘कुनै लक्ष्य र उद्देश्य विनाको भद्रगोल दस्तावेज रहेको छ । यो कर्मकाण्डी खालको नीति तथा कार्यक्रम रहेको छ ।’

नीति तथा कार्यक्रमले कृषि, सहकारी शिक्षा, स्वास्थ्य, पर्यटन, वन वातावरणका कुराहरू उल्लेख गरेको भए पनि सन्तुलित विकासको अवधारणाअनुसार नआएको बताए । ‘विकासको लागि आधार खडा गर्ने शिक्षा र स्वास्थ्य हो । बहुवर्षीय योजना उल्लेख गरिएको छ । ग्रामीण सडक र अन्य महŒवपूर्ण विकासका आयोजना उल्लेख गरिएको छ’ उनले भने, ‘तर, त्यसमा कहिले सम्पन्न गर्ने, कति बनाउने भन्ने खालको कुनै लक्ष्य उल्लेख गरेको छैन ।’

कृषिक्षेत्रमा उत्पादन वृद्धि भनिए पनि त्यसको लक्ष्य नीति तथा कार्यक्रममा उपलब्ध नभएको उनले बताए । ‘एक पालिका एक उत्पादन भनिएको छ । प्रदेशको विशिष्ट अवस्थालाई ख्याल नगरी यहाँ राखिएको अवस्था छ । किसानले पैसा हालेर मल किन्छु भन्दा पनि नपाउने अवस्था रहेको छ । तर, यसमा सरकारले ल्याएको नीति तथा कार्यक्रममा कहीँ बोलेको छैन’ उनले भने, ‘पराम्परागत पुरानै किताबलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।’

प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले बिरालो बाँधेर श्रद्धा गर्ने कर्मजस्तो नीति तथा कार्यक्रम आएको बताए । अहिले आएको नीति तथा कार्यक्रम सुधार गरिनुपर्ने उनले बताए । ‘कर्मकाण्डीजस्तो खालको नीति तथा कार्यक्रम आएको छ’ उनले भने, ‘यसलाई सुधार गरी जनमुखी नीति तथा कार्यक्रम ल्याउनु पर्दछ ।’ उनले जनतालाई लोभ्याउने नीति र कार्यक्रम ल्याए पनि पछि जनतालाई झुक्याउने गरिएको आरोप लगाए ।

प्रदेश सभा सदस्य हीराकुमार थापाले नीति तथा कार्यक्रम ठोस रूपमा आउन नसकेको बताए । उनले किसान लक्षित र उत्पादनमा आधारित अनुदान सरकारले ल्याउनुपर्ने बताए ।

सत्तापक्षकी प्रदेश सभा सदस्य उमिता विश्वकर्मा र धीरेन्द्र शर्माले कृषिलाई उच्च प्राथमिकतामा राखेर ल्याएको नीति तथा कार्यक्रम एकदमै राम्रो रहेकोले यसलाई कार्यान्वयन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलको कार्यक्रम जारी छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाको बैठक शुक्रबार दिउँसो साढे ११ बजेसम्मको लागि स्थगित गरेका छन् ।