इनरुवा  । नेपाली कांग्रेसले जिल्ला समन्वय समिति सुनसरीको प्रमुख र उपप्रमुख पदका उम्मेदवार टुङ्ग्याएको छ । 

नेपाली कांग्रेस १ नम्बर प्रदेश कार्य समितिको बैठकले जिसस प्रमुख र उपप्रमुखको अन्तिम नाम टुङ्गो लगाएको हो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रदेश एकका संसदीय दलका नेता राजिव कोइरालाले प्रमुख र उप प्रमुखको अन्तिम नाम टुङगो लगाइएको बताए । कोइरालाका अनुसार उक्त नाम आज औपचारिक टुङ्गो लागेको हो । 

कोइरालाले दिएको जानकारी अनुसार प्रदेश कार्य समितिको बैठकले जिसस सुनसरी प्रमुखमा इनरुवाका पूर्व मेयर राजन मेहता र उपप्रमुखमा कमला खतिवडालाई आधिकारिक उम्मेद्बार बनाउने निर्णय गरेको छ । 

जिससमा प्रमुख र उपप्रमुख एक–एक जना र ७ जना सदस्य रहने व्यवस्था छ । गठबन्धन दल भित्र भएको सहमति अनुसार सदस्य मध्ये चार जना नेपाली कांग्रेसले पाउने छ । बाँकी तीन मध्ये माओवादी केन्द्र र नेकपा एसबाट एकएक जना महिला सदस्य र जसपाबाट एक जना पुरुष सदस्य चुनिने छन । 

सदस्य चयन भने जिल्लाको निर्णय  बमोजिम हुने बताइएको छ । कांग्रेसले जिसस प्रमुख र उपप्रमुखमा नाम अघि सारेका मेहता र खतिवडा दुवै इनरुवाबासी हुन । 

जिसस निर्वाचन प्रकृया अन्र्तगत मनोनयन दर्ता भोलि हुँदै छ । निर्वाचन भने जेठ ३० गतेलाई तोकिएको छ । निर्वाचनमा स्थानीय तह प्रमुख र उप प्रमुखले मात्र मत खसाल्न पाउने छन ।

जस अनुसार १२ स्थानीय तह रहेको सुनसरीमा प्रमुख र उप प्रमुख गरी २४ जना मतदाता रहेका छन । सम्पन्न स्थानीय तह निर्वाचन परिणाम अनुसार सुनसरी जिसस गठन प्रकृयामा नेपाली कांग्रेसको स्पष्ट बहुमत छ ।