वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा रहेको चतरा अस्पतालको संरक्षकमा नगर प्रमुख रमेश कार्की र सञ्चालक समितिको अध्यक्षमा वडा नं २ को वडाध्यक्ष होमप्रसाद गौतमले पदभार ग्रहण गरेका छन् । 

अस्पतालको स्थानीय स्वास्थ्य संस्था व्यवस्थापन समिति गठन आदेश २०७५ को  दफा ३ को उपदफा ९ को (क) र (ख) अनुसार नगर प्रमुख रमेश कार्कीले संरक्षक र अस्पतालको अध्यक्षमा वडा अध्यक्षमा होमप्रसाद गौतमले पदभार ग्रहण गरेका हुन । अस्पतालको संरक्षकमा नगर प्रमुख र सञ्चालक समितिको अध्यक्षमा वडाध्यक्ष रहने व्यवस्था रहेको अस्पतालका म्यानेजिङ डाइरेक्टर डाक्टर अनिल गिरिले बताए ।

बिहीबार अस्पतालको सभा हलमा आयोजना भएको कार्यक्रममा अस्पतालका निवर्तमान संरक्षक तथा वराहक्षेत्र नगरपालिकाका निवर्तमान प्रमुख निलम खनाल र अस्पताल सञ्चालक समितिका निवर्तमान अध्यक्ष तथा वडा नं २ का निवर्तमान वडाध्यक्ष हरिकृष्ण भट्टराईले पद हस्तान्तरण गरेका थिए।अस्पतालले निवर्तमान संरक्षक खनाल र निवर्तमान अध्यक्ष भट्टराईलाई सम्मान समेत गरिएको थियो । 

कार्यक्रममा निवर्तमान अध्यक्ष भट्टराईले अस्पतालको विकासको लागि सबै दल, जनप्रतिनिधि र सरोकारवाला पक्ष लाग्नु पर्ने बताए । अस्पताल सबैको साझा सम्पत्ति भएकाले सबै मिलेर काम गर्नु पर्नेमा जोड दिए। निवर्तमान संरक्षक खनालले राम्रो योजनालाई कार्यान्वयन गरेर लानु पर्नेमा जोड दिए । त्यस्तै वडा अध्यक्ष एवम् अस्पतालका सञ्चालक समितिका अध्यक्ष होमप्रसाद गौतमले योजना बनाएर अस्पतालको विकासमा लागि पर्ने बताए।

कार्यक्रमका प्रमुख अतिथि रहेका नगर प्रमुख कार्कीले नगरपालिका भित्रका स्वास्थ्य संस्थाको उन्नति र प्रगतिमा लागि पर्ने बताए। चतरा अस्पतालको विकासमा लागि पर्ने प्रतिबद्धता जनाउँदै नगर प्रमुख कार्कीले नगरपालिबासीको साझा भएर काम गर्ने बताए। अस्पतालको भौतिक, प्राविधिक र जनशक्तिको व्यवस्थापन गर्ने बताए।

अस्पतालको संरक्षकमा मेयर कार्की, सञ्चालक समितिको अध्यक्षमा वडाध्यक्ष गौतम सहित उपाध्यक्षमा युवराज भट्टराई, सदस्यमा रमेश विष्ट, प्रह्लाद भट्टराई, सीता भण्डारी पौडेल, गोपाल शर्मा र निमित्त कार्यालय प्रमुख योगेन्द्र कटेल चयन भएका छन् । 

हालको १५ शय्याको चतरा अस्पताल २०२९ असार १५ गते इलाका स्वास्थ्य चौकीको रूपमा स्थापना भएको थियो । अस्पतालले हाल वर्षको ३६५ दिनै सार्वजनिक बिदा र शनिवार समेत ुबिहान ७ बजे देखि बेलुकी ८ बजेसम्म निस्सुल्क ओ पी डी सेवा, आकस्मिक सेवाु लगायतका बहिरङ्ग सेवा दिँदै आइ रहेको छ । 

२४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी,भिडियो एक्स(रे, प्रसूति, फिजोयोथेरापी सेवा, हरेक दिन आँखा, कान, दन्त उपचार, हरेक सोमबार र बिहीबार भिडियो एक्स(रे, हरेक दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ, वाड भर्नासँगै सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भइरहेको छ। अस्पतालमा दैनिक करिब २ सय भन्दा बढी सेवाग्राही आउने गरेका छन् । प्राय मौसमी रोगका बिरामीहरू सेवा लिन आउने गर्छन् । ज्वरो, रुघा खोकी, तथा छाला रोगीका बिरामीहरू आउने गर्छन् ।

२४ सै घण्टा उपचार सेवा दिँदै आएको अस्पतालमा ११ जनाको सरकारी दरबन्दीले नपुगेपछि समितिको श्रोतबाट ३४ जना , नगरपालिकाबाट २ जना, नेत्र ज्योति सङ्घ, बिपी प्रतिष्ठान धरानबाट गरी ५४ जना स्वास्थ्यकर्मी  रहेका छन् । उक्त अस्पताल नमुना स्वास्थ्य संस्थाको रूपमा रहेको छ।