धरान । बीपी कोइराला स्वास्थ्य विज्ञानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले एक जना डेपुटी अस्पताल निर्देशक, दुई जना सहायक अस्पताल निर्देशक र प्रवक्ता नियुक्ति गरेका छन् ।

प्रतिष्ठानको अस्पताल सेवालाई अझ बढी पारदर्शी, चुस्त र दुरुस्त बनाउन र सूचना प्रवाहलाई प्रभावकारी बनाउन रिक्त रहेका ती पदहरूमा नयाँ नियुक्ति गरिएको सह–प्रवक्ता डा. चूरामणि पोखरेलले बताए । उनका अनुसार अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन डेपुटी अस्पताल निर्देशकमा एनेस्थेसियोलोजी विभागका एसोसियट प्रोफेसर डा. जगतनारायण प्रसादलाई नियुक्ति दिइएको छ । अस्पताल सेवाअन्तर्गत वार्डहरू, ओटी र इमर्जेन्सी सेवाहरूको रेखदेख, सुपरीवेक्षण, विकास, विस्तार एवम् सुव्यवस्थित रूपमा सञ्चालन गर्न सहायक अस्पताल निर्देशकमा सर्जरी विभागका एसोसिएट प्रोफेसर डा. लोकेशशेखर जयसवाललाई नियुक्ति दिइएको छ ।

यसैगरी अस्पताल सेवाअन्तर्गत नै ओपीडी, डेन्टल ओपीडी, ल्याव सेवाहरू र रेडियोलोजी सेवाहरूको रेखदेख, सुपरीवेक्षण, विकास, विस्तार एवम् सुव्यवस्थित सञ्चालनार्थ अर्का सहायक अस्पताल निर्देशकमा प्रोस्थोडोन्टिक्स विभागका असिस्टेन्ट प्रोफेसर डा. इन्द्र लिम्बूलाई नियुक्त गरिएको छ ।

प्रतिष्ठानको प्रवक्तामा एनेस्थेसियोलोजी विभागकी प्रोफेसर डा. कृष्णा पोखरेललाई नियुक्त गरिएको छ । उनीहरू तीनैजनाको कार्यकाल २०७९ जेठ १८ देखि लागू भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. पोखरेलले बताए । यसैबीच अस्पताल निर्देशक प्रा.डा. गौरिशङ्कर साहको पदावधि (कार्यकाल) सकिएको छ । उनले मङ्गलबारदेखि अस्पताल निर्देशकको पदावधि सकिए पनि प्रतिष्ठानको प्राध्यापक चिकित्सकका रूपमा भने कार्यरत रहने बताएका छन् ।

प्रा.डा. साहले सम्हालेको अस्पताल निर्देशक पद प्रतिष्ठानको चार मुख्य पदाधिकारीमध्ये एक भएकाले रिक्त भएको उक्त पदमा अब उपकुलपति डा. गिरीले कसलाई नियुक्त गर्ने हुन् चासोको विषय बनेको छ । उपकुलपतिको सिफारिसमा स्वास्थ्य मन्त्रीले अस्पताल निर्देशक नियुक्त गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०४९ मा उल्लेख छ ।