विजयपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई घोपा बचाउ अभियानका अभियानकर्मीले २ घण्टा घेरामा राखेका छन् ।

प्रतिष्ठान सुधारका लागि ५६ दिनदेखि ‘हामी नेपाल’ नामक संस्थाको अगुवाइमा भइरहेको ‘घोपा बचाउ अभियान’ का अभियानकर्मीले सोमबार उपकुलपति गिरीलाई बाहिर निस्किन खोज्दा घेरा हालेर राखेका हुन् । उनी करिब २ घण्टा गाडीभित्रै बसे ।
धरान उपमहानगरका प्रमुख हर्कराज साम्पाङको समन्वयमा अभियानकर्मी र प्रतिष्ठानबीच वार्ता भइरहेको बेला अभियानकर्मीले गिरीलाई घेरा हालेका थिए ।

प्रतिष्ठानले बनाएको वार्ता समूह र अभियानकर्मीसहित उपमहानगर प्रमुख साम्पाङको कार्यकक्षमा वार्ता भइरहेको समयमा प्रतिष्ठान उपकुलपति डा. गिरी चढेको गाडीलाई अभियानकर्मीले घेराउ गरेका थिए । अभियानकर्मी सुजन गुरुङ नेतृत्वको वार्ता समूह र प्रतिष्ठान निर्देशक डा. गौरीशङ्कर साह नेतृत्वको समूहबीच प्रमुख साम्पाङको कार्यकक्षमा पहिलो चरणको वार्ता हुन लागेको थियो । तर, वार्ता बसिरहेको बेला प्रतिष्ठानका उपकुलपति डा. गिरी कार्यकक्षबाट बाहिरिँदै गर्दा को.१ च ९८९५ नम्बरको गाडीलाई अभियानकर्मीले घेरा हालेका थिए । उनीहरूले घेरा हालेसँगै वार्ता पनि भाँडिएको थियो ।

वार्ता भइरहेको समयमा प्रतिष्ठानका उपकुलपति डा. गिरीलाई घेराउ गरेपछि इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठ र धरान उपमहानगर प्रमुख साम्पाङसँगै वार्ता भइरहेको समयमा अराजक गतिविधि नगर्न आग्रह गरेका थिए । अभियानकर्मीले उपकुलपतिलाई घेरा हालेपछि वार्ता असफल भएको थियो । 

उपमहानगर प्रमुख साम्पाङले वार्ता भइरहेको समयमा अराजक गतिविधि गर्नु उपयुक्त नभएको प्रतिक्रिया दिएका थिए । उनले भने, ‘यहाँ वार्ता भइरहेको छ । उता त्यस्तो त गर्नु भएन नि ।’ अभियानका प्रमुख सुधन गरुङले वार्ताका क्रममा अभियानलाई २ महिनासम्म भिसीले बेवास्ता गरेको बताएका थिए । पहिलो चरणको वार्ता निष्कर्षविहीन टुङ्गिएको थियो । अभियानकर्मीले डा. गिरीसँगै सार्वजनिक रूपमा वार्ता गर्ने अडान लिएका थिए ।

विगत ५५ दिनसम्म प्रतिष्ठानको डेण्टल गेटअगाडि धर्ना बस्दै आएका अभियानकर्मीहरूले ५६ औं दिन प्रतिष्ठान हाताभित्र प्रवेश गरी उपकुलपतिलाई घेराउ गरेका हुन् ।

सर्वोच्च अदालतले केही महिनाअगाडि बीपी प्रतिष्ठानजस्तो संवेदनशील संस्थामा तालाबन्दी, हड्ताल, आन्दोलन, प्रदर्शन नगर्न आदेश दिएको थियो । उनीहरू उपकुलपति डा. गिरीले ५६ दिनसम्म आफ्नो अभियान र मागलाई बेवास्ता गरेको आक्रोस पोख्दै प्रतिष्ठान हातामा प्रवेश गरेका थिए ।