धनकुटा । अहिले धनकुटा नगरपालिकाका नवनिर्वाचित प्रमुख चिन्तन तामाङ र उप–प्रमुख भीमा देवी खनाललाई बधाइ तथा सम्मान ग्रहण गर्न भ्याइनभ्याई भैरहेको छ ।

जेष्ठ ३ गते धनकुटा नगरको प्रमुखमा निर्वाचित भएपछि नगर प्रमुख तामाङ र उप–प्रमुख खनाललाई विजय उत्सवको अवसरमा र्याली, भोट दिएर जिताउने नगरवासीको घरघरमा धन्यवाद ज्ञापनलगायतको कार्यक्रम भैरहँदा पछिल्लो समयमा बधाइ तथा सम्मान कार्यक्रमको चाँप वढेको छ ।

नगरको अधिकांश वडामा विजय उत्सव, धन्यवाद ज्ञापन, बधाइ तथा सम्मान कार्यक्रम सम्पन्न भई सकेका छन् । वडा स्तरको कार्यक्रम सम्पन्न भएसंगै पछिल्लो समयमा सामाजिक संघ–संस्थाले आयोजना गर्ने बधाइ तथा सम्मान कार्यक्रममा निर्वाचित नगर प्रमुख तथा उप–प्रमुख व्यस्त छन् ।

यसैक्रममा निर्वाचित नगर प्रमुख चिन्तन तामाङ र उप–प्रमुख भीमा देवी खनाललाई नेपाल प्रहरीको पूर्व प्रहरी संगठन धनकुटाले शनिबार एक कार्यक्रम आयोजना गरेर बधाइ ज्ञापन तथा सम्मान गरेको छ । सो अवसरमा नगर तामाङले भने–‘गएको वैसाख–३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा आफुलाई नगर प्रमुख पदमा जिताउन पुर्व प्रहरीहरुको निक्कै ठूलो भूमिका रहेको छ ।’

तामाङले थपे–‘आफूले ०७४ को निर्वाचनमा भन्दा यस पटकको निर्वाचनमा २७ सय मत बढी ल्याँउदा पनि १४ मतको झिनो मतान्तरले मात्र आफू विजय हुँदा निक्कै चिन्तित र गम्भिर हुनु परेको छ ।’ उनले आफूलाई धनकुटा नगरवासीले दोश्रो कार्यकालको लागि भारी मत दिएर विजय गराएकोले नगरवासीको सेवामा सदैव दत्तचित्त भएर लाग्ने प्रतिवद्धता जनाए ।

पुर्व प्रहरी संगठन धनकुटाले विजय भएको उपलक्ष्यमा आफूलाई बाेलाएर सम्मान एवम् बधाइ ज्ञापन गरेको भन्दै अध्यक्ष योगेन्द्र कार्कीलगायत सिंगो टिमलाई धन्यवाद दिए ।