धनकुटा । स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा धनकुटाका १ सय २१ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ ।

धनकुटा जिल्लाका ७ सय ८५ जना उम्मेदवारमध्ये १ सय २१ जनाको जमानत जफत भएको हो । नगरपालिका प्रमुखमा ८ जना, नगरपालिका उप–प्रमुखमा ४ जना, गाउँपालिका अध्यक्षमा ११ जना, गाउँपालिका उपाध्यक्षमा ६ जना, वडाध्यक्षमा ५१ जना, महिला सदस्य १२ जना, दलित महिला सदस्य ५ जना र २४ जना खुला सदस्यको जमानत जफत भएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।

जमानत जफत हुने नगरपालिका प्रमुखमा राप्रपाका ३ जना, स्वतन्त्रका ३ जना र मङ्गोल नेशनल अर्गनाइजेशन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १–१ जना रहेका छन् । नगरपालिका उपप्रमुखमा राप्रपाका २ जना र स्वतन्त्र २ जनाको जमानत जफत भएको छ । गाउँपालिका अध्यक्षमा स्वतन्त्रका ३ जना, राप्रपा र मङ्गोल नेशनल अर्गनाइजेशनका २–२ जना तथा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जना एवम् गाउँपालिका उपाध्यक्षमा राप्रपाका २ जना तथा मङ्गोल नेशनल अर्गनाइजेशन, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र स्वतन्त्रका १–१ जनाको जमानत जफत भएको छ ।

यस्तै जमानत जफत हुने वडाध्यक्षहरूमा राप्रपाका २० जना, स्वतन्त्रका ११ जना, मङ्गोल नेशनल अर्गनाइजेशनका ६ जना, नेकपा (एकीकृत समाजवादी) का ५ जना, जनता समाजवादी पार्टीका ५ जना तथा नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपा नेपालका १–१ जना रहेका छन् ।

जमानत जफत हुनेमा धनकुटा नगरपालिकामा २२ जना, पाख्रीबास नगरपालिकामा २७ जना, महालक्ष्मी नगरपालिकामा १४ जना रहेका छन् । यस्तै छथर जोरपाटी गाउँपालिकामा १४ जना, सहिदभूमि गाउँपालिकामा २१ जना, साँगुरीगढी गाउँपालिकामा १७ जना र चौबिसे गाउँपालिकामा ६ जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेमा धनकुटा नगरपालिका प्रमुखका उम्मेदवारमा राप्रपाकी सुमिना तामाङ, स्वतन्त्रका सुन्दरबाबु श्रेष्ठ, उपप्रमुखमा सीताराम श्रेष्ठ, वडाध्यक्षमा १० जना, महिला सदस्यमा २ जना, दलित महिला सदस्यमा १ जना र खुल्ला सदस्यमा ६ जना उम्मेदवार रहेका छन् ।

यस्तै पाख्रीबास नगरपालिका प्रमुखका उम्मेदवारमा राप्रपाका ज्ञानबहादुर पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनका डेभिड राई र स्वतन्त्रका चकेन्द्रबहादुर बस्नेतको पनि जमानत जफत भएको छ । यस्तै उपप्रमुखमा राप्रपाकी रुद्रकुमारी आले र स्वतन्त्र देवकुमारी बस्नेतको पनि जमानत जफत भएको छ । पाख्रीबास नगरपालिकामा १२ जना वडाध्यक्ष, २ जना महिला सदस्य, ३ जना दलित महिला सदस्य र ५ जना खुल्ला सदस्य उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।

यता महालक्ष्मी नगरपालिका प्रमुखमा राप्रपाका चेतनाथ चापागाईं, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गुरुप्रसाद लिम्बू, स्वतन्त्रका विष्णु पौडेलको जमानत जफत भएको छ भने उपप्रमुखमा राप्रपाका इन्दिरा भण्डारीको जमानत जफत भएको छ । महालक्ष्मी नगरपालिकामा ४ जना वडा अध्यक्ष, १ जना महिला सदस्य, १ जना दलित महिला सदस्य र ४ जना खुल्ला सदस्यका उम्मेदवारको जमानत जफत भएको श्रेष्ठले जानकारी दिए ।

साँगुरीगढी गाउँपालिका अध्यक्षमा राप्रपाका नरेन्द्रकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनका दिनेशकुमार राई, स्वतन्त्रमा भूवनबहादुर लिम्बूको जमानत जफत भएको छ भने उपाध्यक्षमा राप्रपाकी सानुमाया घर्ती (तामाङ) र मङ्गोल नेशनल अर्गनाइजेशनकी निरणकुमारी राईको पनि जमानत जफत भएको छ । साँगुरीगढी गाउँपालिकामा वडाध्यक्षमा ७ जना, महिला सदस्यमा २ जना र खुल्ला सदस्यमा ३ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सहिदभूमि गाउँपालिका अध्यक्षमा राप्रपाका गुर्दबहादुर राई, स्वतन्त्रका अनिष पुमा राई र माइकल राईको पनि जमानत जफत भएको छ भने उपाध्यक्षमा राप्रपाकी चन्द्रकुमारी राई र स्वतन्त्रकी रमनकुमारी राईको जमानत जफत भएको छ । सहिदभूमि गाउँपालिकामा १० जना वडाध्यक्ष, २ जना महिला सदस्य र ४ जना खुल्ला सदस्यका उम्मेदवारको जमानत जफत भएको छ ।

चौबिसे गाउँपालिका अध्यक्षमा मङ्गोल नेशनल अर्गनाइजेशनकी दिलमाया लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ततबहादुर लिम्बूको जमानत जफत भएको छ भने उपाध्यक्षमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी शान्तिदेवी लिम्बूको पनि जमानत जफत भएको छ । चौबिसे गाउँपालिकामा वडाध्यक्ष, महिला सदस्य र खुल्ला सदस्यमा १–१ जना उम्मेदवारको जमानत जफत भएको छ ।

छथर जोरपाटी गाउँपालिका अध्यक्षमा राप्रपाका निरबहादुर थापा, मङ्गोल नेशनल अर्गनाइजेशनका कृष्ण गुरुङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका श्रीप्रसाद लिम्बूको जमानत जफत भएको छ भने उपाध्यक्षमा राप्रपाकी सम्झना खपतरीको पनि जमानत जफत भएको छ । छथर जोरपाटी गाउँपालिकामा ७ जना वडाध्यक्ष, २ जना महिला सदस्य र १ जना खुल्ला सदस्यका उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।