पथरीशनिश्चरे ।  मोरङको पथरी शनिश्चरे नगरमा स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले वडा –वडामा पदभार ग्रहण गरी कार्यालयको दैनिक काम थालेका छन् ।

 नवनिर्वाचित नगर प्रमुख मोहनप्रसाद तुम्वापोले उपप्रमुख देवीमाया काफ्ले सहित वडाध्यक्षलाई सपथ ग्रहण गराएपछि नगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरुले आफ्नो कार्यआरम्भ सुरु गरेका हुन् । यस क्रममा बुधबार वडा नम्बर २, १० लगायतका वडामा निवर्तमान पदाधिकारीहरुले नवनिर्वाचित पदाधिकारीहरुलाई आफ्नो पद हस्तान्तरण गरेका छन् । वडा वडामा स्वागत तथा विदाई कार्यक्रमहरु भएका छन् ।

   वडा नम्बर १० का निवर्तमान अध्यक्ष सागर राईले नवनिर्वाचित अध्यक्ष जीवन खतिवडालाई पदहस्तान्तरण गरेपछि उहाँले आफ्नो कार्यालयको दैनिक काम थालेका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष खतिवडाले आफुसँग निर्वाचनमा प्रतिष्पर्धीहरुको समेत भावनालाई ख्याल गरेर दल भन्दा माथि उठेर निष्पक्ष र पारदर्शी रुपमा काम कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।

  निवर्तमान वडाध्यक्ष सागर राईले आफ्नो अगुवाईको कार्यकालमा भएका कामका बारेमा जानकारी गराए । कार्यक्रममा, नेकपा एमालेका हिमालय थापा (पर्वत), नेपाली कांग्रेसका अर्जुन पोखरेल, माओवादी केन्द्रका रमेश राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्रीप्रसाद काङवाले शुभकामना मन्तव्य व्यक्त गरे ।

  वडा नम्बर १ मा बाबुराम एङ्देनले भीमकुमार राईलाई, २ मा यामप्रसाद गुरागाईंले नैना राईलाई, ३ मा डम्बरबहादुर चेम्जोङले विजय लिम्बूलाई, ४ मा गोविन्दबहादुर भण्डारीले लोकनाथ न्यौपानेलाई, ५ मा जोगबहादुर धिमालले चेतेन्द्र खडकालाई, ६ मा जयबहादर तामााङले कृष्णकुमार बस्नेतलाई,  ७ मा कपिलमणि ढकाकालले उद्धवराज बस्नेतलाई,  ८ मा बाबुराम दहालले नवीन कार्कीलाई, ९ मा भानुभक्त राईले वीरबहादुर राईलाई र १० मा सागर राईले जीवन खतिवडा सहितका पदाधिकारीहरुलाई आफ्नो कार्यभार सुम्पिएका छन् ।  

  फर्निचर खरिद प्रकरणको विज्ञप्ति

नगरपालिका कार्यालयको अघिल्लो समिति रहँदा १० औं नगरसभाबाट नगरपालिका कार्यालय, वडा कार्यालय र वडा–वडाका स्वास्थ्य कार्यालयका लागि आवश्यक फर्निचर खरिद गर्ने निर्णय बमोजिम यस अघि नै टेण्डर भएर यस बेला आएको फर्निचरका बारेमा सामाजिक सञ्जाल सहित केही सञ्चारमाध्यममा अनर्गल समाचार आएको भन्दै नगरले बुधबार एक विज्ञप्ति जारी गरेको छ ।

नयाँ जनप्रतिनिधि आउँनासाथ अनावश्यक रुपमा नयाँ फर्र्निचर फेरिएको भन्ने कुरा आएपछि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेलले हस्ताक्षर गरी कानून सम्मतरुपमा र आवश्यकताका आधारमा फर्निचर खरिद भएको हुँदा भ्रम सिर्जना नगर्न र भ्रममा नपर्न अनुरोध गर्दै विज्ञप्ति जारी गरेका छन् । 

भ्याट बाहेक १६ लाख १५ हजार ९ सय ५० रुपैयाँ बराबरको फर्निचर खरिद भएको विज्ञप्तिमा जनाइएको छ । पुराना भएका केहि फर्निचर फेर्नु परेको तथा नगर, वडा र स्वास्थ्य कार्यालयमा अपुग भएका फर्निचर खरिद गरिएको उल्लेख छ ।

nagar- farniture ko press bigyapti