विराटनगर । विराटनगर–६ रामपुरमा १५ शय्याको जेरिएट्रिक अस्पताल बन्ने भएको छ । ज्येष्ठ नागरिकहरूको उपचारका लागि जेरिएट्रिक अस्पतालको सोमबार शिलान्यास गरिएको हो ।

निर्माण हुन लागेको अस्पतालको शिलान्यास नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले गरे । विराटेश्वर वृद्धाश्रममले चन्दा सङ्कलन गरेर करिब ३० करोडको लगानीमा जेरिएट्रिक अस्पताल बनाउन लागेको अध्यक्ष जगत अर्यालले जानकारी दिए ।

‘ज्येष्ठ नागरिकहरूको उपचारका लागि छुट्टै जेरिएट्रिक अस्पताल बनाउन सुरु गरिएको छ,’ उनले भने, ‘अस्पतालका लागि मनकारी व्यक्तिहरूले सहयोग गर्न सुरु गरेका छन् । यसमा राज्यले पनि लगानी आवश्यक छ ।’

१ बिघा क्षेत्रफलमा जेरिएट्रिक अस्पताल बन्न लागेको हो । जग्गा विराटनगरका सरोज अधिकारीका छोराबुहारी सञ्जीव अधिकारी, अञ्जना अधिकारीले दान गरेका हुन् । जेरिएट्रिक अस्पताल ज्येष्ठ नागरिकमैत्री अस्पताल बन्ने उनले बताए । कार्यक्रममा नेता कोइरालाले जेरिएट्रिक अस्पताल निर्माणमा सहयोग गर्ने बताए ।

कार्यक्रममा विराटनगर महानगरपालिका नवनिर्वाचित मेयर नागेश कोइरालले जेरिएट्रिक अस्पताल निर्माणमा महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।