धरान । धरान रन समूहका संस्थापक अध्यक्ष सन्तोष राईले स्पाइनल इञ्जुरी सङ्घ प्रदेश १ को अक्षयकोषका लागि रकम प्रदान गरेका छन् ।

बुधबार इटहरीमा आयोजित कार्यक्रममा सङ्घको अक्षयकोष स्थापनार्थ ५ लाख २४ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । धावक राईले हालै अन्तर्राष्ट्रिय साहसिक ट्राइयाथलन अन्तर्गतको ‘हिमालयन एक्सट्राई’ मा सफलता प्राप्त गरेका छन् ।

यही सफलतापश्चात् नै उनले अक्षयकोषका लागि रकम प्रदान गरेका हुन् । धरान रन समूहले पनि हरेक वर्ष नेवा च्यारिटी १० के रन प्रतियोगिता गर्दै आएको छ । नेवा च्यारिटी रन देशभरिकै सबैभन्दा बढी धावकधाविका दौडने प्रतियोगिता हो ।

त्यस्तै स्पाइनल इन्जुरी सङ्घकै सदस्य आशिष राईलाई पनि एक लाख २६ हजार रुपैयाँ सहयोग गरेको अध्यक्ष रमु राईले जानकारी  दिए । राईका लागि धरान रन समूहले यसअघि नै अक्षयकोष स्थापना गरिदिएको छ ।

सङ्घलाई धरान रन समूहले पनि अक्षयकोषका लागि २० हजार रुपैयाँ नगद सहयोग गरेको अध्यक्ष राईले जानकारी दिए । धरान रन समूहले प्रत्येक शनिबार धरान–८ स्थित यलम्बर सामुदायिक वनको अगाडिबाट साढे तीन किलोमिटरको रन गराउँदै आएको छ ।