भोलि शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्थासहित सबै तयारी पूरा भएको छ । जिल्लाका १८ स्थानीय तहका मतदान केन्द्रमा मतपेटिका र मतपत्रलगायतका आवश्यक सामग्री पुगिसकेको छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागि सबै मतदानस्थलमा म्यादीसहितको सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचनमा भाग लिने ३२ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित छ हजारभन्दा बढी उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  निर्वाचन अन्तर्गत आज मतदाता परिचयत्रपत्र वितरण गर्नुका साथै मतदाता शिक्षाअन्तर्गत मतदान गर्ने तरिकासम्बन्धी जानकारी दिइने मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन् ।

उनका अनुसार जिल्लामा ३२३ मतदान स्थल र ५९६ मतदान केन्द्र कायम गरिएको छ । 

सीमानाका बन्द 

निर्वाचनलाई मध्यनजर गर्दै जिल्लामा स्थानीय प्रशासनले भारतसँग जोडिएका सीमानाका बन्द गरेको छ भने मदिरा बिक्री वितरणमा निषेध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन, २०२८ तथा स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ का विभिन्न व्यवस्थाअनुसार आदेश जारी गरिएको जानकारी दिए।

मङ्गलबार राति १२ बजेदेखि नै मतदान कार्य सम्पन्न नभएसम्मका लागि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा) को बिक्री वितरण र सेवन कार्य निषेध गर्नुका साथै मङ्गलबार राति १२ बजेदेखि ३० वैशाखसम्म भारतीय सीमासँग जोडिएका सीमानाकासमेत पूर्णरूपमा बन्द गरिएको उनले जानकारी दिए ।